वीरगञ्ज, २२ साउन — भारतबाट इन्धन बोकेर नेपाल भित्रिएको ट्याङ्करबाट अनाधिकृत रूपमा तेल चोरी गरी बिक्री-वितरण गरिरहेको अवस्थामा प्रहरीले वीरगञ्जबाट एक पेट्रोल पम्प सञ्चालकसहित सात जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बिहीबार साँझ करिब ५:१० बजे वीरगञ्ज महानगरपालिका–१४ बाइपासस्थित सौदागर आयल सेन्टरमा छापा मारी उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो। भारतबाट एकीकृत जाँच चौकी (ICP) जाँचपास गरी नेपाल प्रवेश गरेको ना.७ ख १५३९ नम्बरको पेट्रोलियम ट्याङ्करको सीलमा फलामको विशेष हुक प्रयोग गरी अवैध तरिकाले तेल झिक्दै गर्दा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा आयल सेन्टरका सञ्चालक सुनैन मियाँ, लेखापाल असलम हवारी र क्यासियर रफिक मियाँ रहेका छन्। त्यसैगरी, इन्धन ल्याउने ना.७ ख १५३९ नम्बर ट्याङ्करका चालक मन्द सिंह लामा, सहचालक उमेश राना मगर तथा घटनास्थलमा भेटिएका ना.७ ख २८०४ नम्बरका अर्को ट्याङ्करका चालक केशर राम सुनार र सहचालक सन्देश राना मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटना स्थलबाट दुवै ट्याङ्कर नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय