काठमाडौँ — आकर्षक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ।
पक्राउ पर्नेहरूमा नुवाकोट घर भई काठमाडौँ-४ बस्ने ४१ वर्षीय मनोहर मुडभरी, बाजुराका २६ वर्षीय अनिल मल्ल, कास्कीकी ३४ वर्षीया कमला पौडेल सुनार र पाँचथरका ४१ वर्षीय तुलसीराम ढुङ्गेल रहेका छन्।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उनीहरूले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट रकम असुल गरेर सम्पर्कविहीन भएका थिए। आरोपी मनोहरले मौरिसस पठाइदिने भन्दै रु तीन लाख ५० हजार, अनिलले कम्बोडियाका लागि रु आठ लाख ८४ हजार, कमलाले रोमानियाका लागि रु छ लाख र तुलसीरामले युएई पठाइदिने भन्दै रु छ लाख ठगी गरेको उजुरी परेको थियो।
पीडितहरूको निवेदनका आधारमा खटिएको प्रहरी टोलीले मनोहरलाई मङ्गलबार ललितपुरको कुपण्डोल क्षेत्रबाट र बाँकी तीन जना अनिल, कमला तथा तुलसीरामलाई बुधबार काठमाडौँका सुन्धारा, गोंगबु र सिनामंगल क्षेत्रबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय