
काठमाडौं — धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटार चोकबाट ६ क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले बिहीबार बिहान गरेको सवारी जाँचका क्रममा ६४७ किलोग्राम गाँजा बरामद गरेको हो।
पक्राउ पर्ने व्यक्तिहरू: उमेस थिङ तामाङ: २७ वर्ष (चालक), कैलाश गाउँपालिका-३, मकवानपुर, तुलाराम राई: ३६ वर्ष (सहचालक), सहिदभूमि गाउँपालिका-१, धनकुटा
कसरी भयो बरामद?
धनकुटाबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकलाई शंकास्पद मानी भेडेटार चोकमा रोकेर खानतलासी गरिएको थियो। जाँचका क्रममा ट्रकभित्र लुकाइछिपाइ राखिएका ४८ वटा पोकामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजासहित नियन्त्रणमा लिइएका चालक र सहचालकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




