
सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले सिरहास्थित सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुस लिएको आरोपमा रंगेहात पक्राउ गरेको छ।
आयोगका अनुसार कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै वन अधिकृत यादवले प्रतिट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ मागेका थिए। सेवाग्राहीले घुस मागिएको भन्दै अख्तियारमा उजुरी दिएपछि आयोगले गोप्य निगरानी तथा अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानकै क्रममा कर्जन्हा नगरपालिका–४ बाट यादवलाई १२ हजार रुपैयाँ घुस बुझिसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउपछि घटनास्थलमै मुचुल्का तयार गर्ने, बरामद रकम सुरक्षित गर्ने तथा आवश्यक प्रमाण संकलनलगायत कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रवक्ता प्रकाश पोखरेलका अनुसार प्रारम्भिक कानुनी प्रक्रिया पूरा भएपछि पक्राउ परेका वन अधिकृतलाई थप अनुसन्धानका लागि बर्दिबासस्थित आयोगको कार्यालय लगिनेछ।
घटनाले वन प्रशासनसँग सम्बन्धित सेवा प्रवाहमा हुने अनियमितता र घुसखोरीको विषयलाई पुनः चर्चामा ल्याएको छ। आयोगले भ्रष्टाचारजन्य गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अनुरूप अनुसन्धानलाई निरन्तरता दिइने जनाएको छ।



