काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारको गम्भीर आरोपमा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष शिव बहादुर थापालाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । थापामाथि अमेरिका पठाउने प्रलोभन देखाएर ठूलो रकम असुल्ने, पीडितलाई मानसिक तथा शारीरिक यातना दिने र विदेशमा अलपत्र पार्ने आरोप लागेको छ ।

ब्यूरोका अनुसार, प्रतिवादी थापाले पीडित (परिवर्तित नाम २६ बबरमहल) सँग सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत सम्पर्क गरी दुबई हुँदै अमेरिका पठाइदिने आश्वासन दिएका थिए । उनले अमेरिका जान करिब ६० लाख रुपैयाँ लाग्ने भन्दै विश्वास दिलाएका थिए ।

उजुरीअनुसार, २०७८ वैशाख ११ गते पीडितलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई लगिएको थियो । त्यहाँ ‘ग्रान्ड नोभा’ होटलमा करिब एक महिनासम्म राखेर अमेरिकाको भिसा प्रक्रियाका लागि भन्दै एजेन्टमार्फत ८ लाख रुपैयाँ बराबरको ३५ हजार दिराम, राहदानी र फोटो लिइएको थियो ।

त्यसपछि पीडितलाई दुबईबाट बहराइन, टर्की, ब्राजिल, पेरु हुँदै कोलम्बिया पुर्‍याइएको थियो । कोलम्बियामा करिब एक वर्षसम्म अमेरिका लैजाने आश्वासन दिँदै बन्धक बनाइएको, शारीरिक तथा मानसिक यातना दिइएको र जबरजस्ती करणीसमेत भएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपाल फर्कन चाहँदा पनि प्रतिवादी थापाले थप रकम माग्दै दबाब दिएको आरोप छ । पीडितले अमेरिकामा रहेका साथीमार्फत थापाले उपलब्ध गराएका विभिन्न विदेशी तथा नेपाली नागरिकका बैंक खाता र वेस्टर्न युनियनमार्फत पटक–पटक गरी ९८ हजार ९ सय अमेरिकी डलर (करिब १ करोड ४२ लाख रुपैयाँ) पठाएको अनुसन्धानमा खुलेको छ ।

रकम प्राप्त भएपछि एजेन्टहरूले पीडितलाई कोलम्बियाबाट पानामाको जंगल हुँदै मेक्सिकोको तापाचुला बोर्डरसम्म पुर्‍याएका थिए । त्यहाँ पुगेपछि पुनः २० हजार अमेरिकी डलर माग गरिएको र रकम दिन नसकेपछि पीडितलाई मेक्सिकोमै अलपत्र छाडिएको प्रहरीले जनाएको छ ।

पछि अमेरिकामा रहेका आफन्त र अमेरिकास्थित नेपाली राजदूतावासको समन्वयमा ‘वन वे ट्राभल डकुमेन्ट’ तयार गरी पीडितलाई २०८३ वैशाख २ गते नेपाल फर्काइएको थियो ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले थापालाई २०८३ वैशाख २८ गते पोखरा महानगरपालिका–१७ बाट पक्राउ गरेको हो । हाल उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय