
काठमाडौं, ११ वैशाख — अनलाइन माध्यमबाट ठगी गरेको अभियोगमा इलाम फाकफोकथुम गाउँपालिका–६ घर भएका २७ वर्षीय सुजन लिम्बु उर्फ सुशन थेगिम लिम्बुलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार उनले सामाजिक सञ्जाल TikTok मार्फत पीडितसँग सम्पर्क गरी विभिन्न प्रलोभन देखाएका थिए। उनले अमेरिकी डलर, गरगहना लगायतका उपहार DHL मार्फत पठाइसकेको र ती सामान काठमाडौं विमानस्थलस्थित शाखामा आइपुगेको भन्दै विश्वास दिलाएका थिए।

सामान बुझ्न कस्टम शुल्क तथा कर तिर्नुपर्ने बहानामा उनले पीडितबाट विभिन्न बैंक खातामा जम्मा २ लाख रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको छ।
पक्राउ परेका लिम्बुलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



