झापा — भद्रपुरमा ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–४ का ३० वर्षीय बब्लु मर्डी र बिर्तामोड नगरपालिका–१ का २७ वर्षीय अनमोल गजमेर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, भद्रपुर नगरपालिका–४ डाँगीबारीस्थित लुखिराम मर्डीको घरमा लागूऔषध ओसारपसार तथा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतीलाल योन्जन तामाङको कमान्डमा खटिएको टोलीले हिजो दिउँसो करिब साढे १ बजे छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उक्त घर बाहिरको कम्पाउन्डमा टिनको डिब्बाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिकबाहेक २१८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। साथै नगद ३ लाख २५० रुपैयाँ र विभिन्न विदेशी मुद्रा—अमेरिकी डलर ७५, पाकिस्तानी रुपैयाँ ५०, अस्ट्रेलियन डलर ५ तथा भारतीय रुपैयाँ ५३० समेत बरामद गरिएको छ।

प्रहरीका अनुसार बब्लु मर्डी लामो समयदेखि ब्राउन सुगर कारोबारमा संलग्न थिए। अनमोल गजमेर भने बब्लुसँग ब्राउन सुगर खरिद गर्न पुगेका थिए। बिर्तामोड स्थायी ठेगाना भएका अनमोल हाल काठमाडौं बस्दै आएका छन्। उनी आज बिहान हवाईमार्गबाट भद्रपुर आएका थिए र लागूऔषध खरिद गरी काठमाडौं फर्किने योजनामा रहेको खुलेको छ।

अनमोलकै साथबाट नगद तथा विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ। बब्लुले भने सीमापारी भारतको गलगलिया क्षेत्रबाट ब्राउन सुगर ल्याएर नेपालमा बिक्री–वितरण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय