
काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषध ओसारपसार र बिक्री वितरणमा संलग्न नौ जनालाई नियन्त्रणमा लिएको छ। नियमित सुरक्षा गस्तीमा खटिएको प्रहरी टोलीले झापा, मोरङ, बारा, तनहुँ, पर्सा र सुर्खेतका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर–५ नयाँबजारबाट एक जना र मोरङको उर्लाबारी–७ बरगाछीबाट दुई जनालाई नियन्त्रणमा लिइएको छ। यस्तै, बाराको जितपुर सिमरा उपमहानगरपालिका–१० नितनपुरबाट दुई जना पक्राउ परेका छन्। उनीहरूको साथबाट प्रहरीले खैरो हेरोइन र ६ हजार ७५० रुपैयाँ नगद समेत बरामद गरेको छ।

यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारबाट एक, पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट दुई र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बाट एक जनालाई सोमबार पक्राउ गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूको तलासी लिँदा चिकित्सकको अनिवार्य सिफारिसमा मात्र खरिद–बिक्री गर्न पाइने १ हजार ७०० वटा ट्रामाडोल ट्याबलेट फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ।



