
काठमाडौँ – काठमाडौँको बल्खु, बाफल र हसनटारबाट भदौ २ मा चार वटा मोटरसाइकल चोरी भएपछि प्रहरीले छानबिन सुरु गरेको थियो। अनुसन्धानका क्रममा सिसिटिभी फुटेज अध्ययन गर्दा एउटा सङ्गठित गिरोहको संलग्नता पत्ता लागेको थियो।
करिब १६ दिनको अनुसन्धानपछि प्रहरी वृत्त कालीमाटी र उपत्यका अपराध अनुसन्धान कार्यालय, कालीमाटी शाखा ले धादिङको गजुरी गाउँपालिका–७ का ६ जना सदस्यहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १८ वर्षीय बिजय तामाङ, १८ वर्षीय नरेश रुम्बा, २० वर्षीय देवेन्द्र थिङ, २० वर्षीय बिर बहादुर तामाङ, २१ वर्षीय दिपक तामाङ र २६ वर्षीय नारायण तामाङ रहेका छन्। गिरोहको मुख्य नाइके २६ वर्षीय नारायण तामाङ हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहरा का अनुसार, पछिल्लो दुई महिनाभित्र उनीहरूले काठमाडौँबाट करिब ५० वटा मोटरसाइकल चोरी गरेका थिए। चोरी हुने मोटरसाइकलको रेकी गर्न अलग व्यक्तिहरू खटाउने र मध्यरातमा चोरी गर्ने गिरोहको रणनीति थियो। चोरी भएका मोटरसाइकललाई उच्च पहाडी र हिमाली क्षेत्रमा २०–३० हजारमा बिक्री गर्ने गरेको पाइएको छ।
गिरोहले चोरीको क्रममा जिम्मेवारी बाँडफाँड गरेको पाइएको छ। ह्याण्डल लक तोड्ने, मास्टर की मार्फत स्टार्ट गर्ने र मोटरसाइकल चलाउने काम फरक व्यक्तिले गर्थे। उनीहरूले ब्लुटुथ इन्ड्राकम जडान गरेर आपसमा संचार गर्दै चोरी गर्ने गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।
पक्राउपछि प्रहरीले ३ वर्षअघि काठमाडौँको रानीबनबाट चोरी भएको यमाहा एमटी मोटरसाइकल समेत बरामद गरेको छ।
भदौ १८ मा स्युचाटारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीसँग गिरोहको जम्काभेट भएको थियो। यस क्रममा प्रहरी नायव निरीक्षक प्रमोद राउत, असई सुदिप पाण्डे र सहायक हवल्दार बिरेन्द्र खड्का घाइते भएका थिए। त्यसपछि डिएसपी मधु थापा को नेतृत्वमा आरोपीहरू नियन्त्रणमा लिइएका थिए।
सो समूहले कालीमाटी क्षेत्रबाट चोरी गरेको १४ वटा घटना समाधान भएको छ र ११ वटा मोटरसाइकल बरामद गरिएको छ। आरोपीहरू विरुद्ध अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान जारी छ।