सुरक्षा सरोकार — नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले चालु आर्थिक वर्षको साउन यता ४६ जना लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक महिला पनि रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए।

उक्त अवधिमा २७ ग्राम २० मिलीग्राम ब्राउन सुगर र २ ग्राम ६९० मिलीग्राम चरेश बरामद गरिएको प्रहरीले जनाएको छ। डाँगीका अनुसार गत वर्ष भदौ महिनादेखि भारतबाट हुने लागुऔषध ओसारपसार नियन्त्रणका लागि स्थानीय प्रशासनले सर्च अभियान सञ्चालन गरेपछि पक्राउ परेकाहरूको संख्या बढेको हो।

बर्दियासँग जोडिएको ८३ किलोमिटर लामो भारतीय सीमा नाका लागुऔषध ओसारपसारको मुख्य बाटो बनेको छ। सबैभन्दा बढी कारोबार बढैयाताल गाउँपालिका, गुलरिया र मधुवन नगरपालिका हुँदै हुने गरेको प्रहरीले जनाएको छ। भारतीय बजारमा ब्राउन सुगर सस्तो पाइने भएकाले कारोबारीहरूले त्यहाँबाट भित्र्याउने गरेको पाइएको छ।

सीमा पार गरेबापत १ हजार, पूर्व–पश्चिम राजमार्गसम्म पुर्‍याए १५ सय, र सुर्खेतसम्म पु¥याए २५ सय रुपैयाँसम्म दिने गरेको तथ्य पक्राउ परेकाहरूले प्रहरीलाई बयान दिएका छन्। भारतमा १० ग्रामसम्म ब्राउन सुगरसहित पक्राउ परे पनि मुद्दा नचल्ने भएकाले तस्करी बढ्ने गरेको डाँगीले बताए।

यसअघि, आर्थिक वर्ष ०७९/०८० मा ९१ जना (३ महिला सहित), आर्थिक वर्ष ०८०/०८१ मा २०७ जना (५ महिला सहित) र गत आर्थिक वर्षमा १२० जना (१ महिला सहित) ब्राउन सुगरसहित पक्राउ परेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय