
रुकुम (पूर्व) । रुकुम (पूर्व) सिस्ने गाउँपालिका–५ स्थित जिल्ला प्रहरी कार्यालयको मुलगेट अगाडि चेकजाँच गर्ने क्रममा लागुऔषध ब्राउन सुगरसहित दुई जना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भुमे गाउँपालिका–७ का २९ वर्षीय सन्दीप विश्वकर्मा र बाँके राप्ती सोनारी गाउँपालिका–२ निवासी हाल सिस्ने गाउँपालिका–६ बसोबास गर्दै आएका २४ वर्षीय उमेश नेपाली रहेका छन्।

प्रहरी निरीक्षक गोपाल न्यौपानेको कमाण्डमा खटिएको पाँच जनाको टोलीले भुमे गाउँपालिका–४ काँडाबगरबाट रुकुमकोटतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागि चेकजाँच गर्दा लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मान्यता प्राप्त डिजिटल नापतौल मिसिनमा जाँच गर्दा उक्त पदार्थको शुद्ध तौल २० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) मा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लालबहादुर बि.क. ले जानकारी दिनुभयो। साथै, जिल्ला अदालत रुकुमकोटबाट दुवै जनामाथि दिन १० को म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।