कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

भदौ १३ गते दिउँसो कोहलपुर नगरपालिका–११ स्थित इलाका प्रहरी कार्यालय अगाडि पार्किङ गरी राखिएको भे ११ प ९६७८ नम्बरको मोटरसाइकल चोरी भएको थियो। उक्त घटनाको खोजतलास गर्ने क्रममा प्रहरीले सोमबार कोहलपुर नगरपालिका–११ बाट भारतका ४२ वर्षीय आजाद अन्सारी र नेपालगन्जका ४३ वर्षीय संजिव कुमार यादवलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले उक्त मोटरसाइकल नेपालगन्ज महानगरपालिका–८ का ६० वर्षीय सहिद अहमद सिद्दीकीलाई ३ हजार रुपैयाँमा बिक्री गरेको खुल्न आएपछि प्रहरीले मंगलबार दिउँसो सिद्दीकीलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डीएसपी लक्ष्मी खनालले जानकारी दिइन्।

उनका अनुसार चोरी भएको मोटरसाइकल नेपालगन्ज–१८ भुजईगाउँमा रहेको समिम अहमदले सञ्चालन गरेको शाहजी मोटरसाइकल ग्यारेज नजिक फेला परेको हो। प्रहरीले ३० वर्षीय समिम अहमदलाई समेत नियन्त्रणमा लिएको छ।

कोहलपुर प्रहरीले सक्रियता देखाउँदै चोरी भएको मोटरसाइकललाई १४४ घण्टामै फेला पारेको हो। हाल पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय