
काठमाडौँ । नेपाल प्रहरी सेवामा कार्यरत गणेश मुक्तान ‘खनित गणेश’द्वारा लेखिएको पहिलो औपन्यासिक कृति लाफा सार्वजनिक गरिएको छ।
नेपाल पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मी, कवि एवं लेखक रिमा केसी, कवि दीपक सापकोटा र लेखक गणेशले सर्वनाम थिएटरमा संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।

विमोचन कार्यक्रममा बोल्दै कवि रिमा केसीले लाफा आदिवासी जनजाति समुदायमा मामा–फुपूका छोराछोरीबीच हुने प्रेम र विवाहजस्ता सांस्कृतिक धरातलमा आधारित रहेको बताइन्। उनले भनिन्, “लेखकले तामाङ र मगर युवाबीचको प्रेमलाई सांस्कृतिक, सामाजिक र युवा मनोविज्ञानमार्फत मिहिन चित्रण गरेका छन्।”
त्यस्तै, कवि दीपक सापकोटाले नेपाली साहित्यमा प्रेम कथा नौलो नभए पनि लाफालाई विशेष कृति रहेको बताए। उनले भने, “यो डायरी शैलीमा लेखिएको विशुद्ध प्रेम कथा हो। स्मृतिलाई पछ्याउन सकियो भने राम्रो सिर्जना सम्भव हुन्छ भन्ने उदाहरणका रूपमा लाफा प्रस्तुत छ।”
महानिर्देशक रेग्मीले प्रहरी सेवामा रहेर पनि गणेश साहित्य सृजनामा सक्रिय देखिनु प्रसंशनीय भएको उल्लेख गरे।
मकवानपुरका स्थायी बासिन्दा गणेश मुक्तान करिब डेढ दशकदेखि कविता र गजल लेख्दै आएका छन्। हाल उनी काठमाडौंको भृकुटीमण्डलस्थित पर्यटन प्रहरीले कार्यरत छन्। पुस्तकलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो।



