
बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर–दाङले २०८३ साल असार महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)’ का रूपमा इलाका प्रहरी कार्यालय, लुम्बिनी (रूपन्देही) मा कार्यरत प्रहरी निरीक्षक (प्र.नि.) होमनाथ रेग्मी लाई चयन गरेको छ।
प्रदेश प्रहरी कार्यालयले संगठनको नीति तथा निर्देशनअनुसार प्रदान गरिएको पेशागत जिम्मेवारी र पदीय दायित्वलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुका साथै मातहतका प्रहरी कर्मचारीहरूको उत्प्रेरणा अभिवृद्धि, अपराध अनुसन्धान तथा नियन्त्रण र नवप्रवर्तनात्मक कार्यक्रममार्फत आम समुदायमा प्रहरी संगठनको छवि अभिवृद्धिमा पुर्याएको उल्लेखनीय योगदानका आधारमा रेग्मीलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जनाएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्रबहादुर खत्री ले प्र.नि. रेग्मीलाई बधाई दिँदै आगामी दिनमा पनि अझ प्रभावकारी र व्यावसायिक रूपमा सेवा प्रवाह गर्न शुभकामना व्यक्त गरेका छन्।
प्रदेश प्रहरी कार्यालयले प्रत्येक महिना उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्दै प्रहरी संगठनभित्र व्यावसायिकता, उत्तरदायित्व र उत्कृष्ट कार्य संस्कृतिको विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ।




