
• गोविन्द पन्थी
जेनजी का युवा दाजु–भाइ र दिदी–बहिनीहरू,

त्यत्रो बलिदानका बीचबाट आएको संविधान र त्यसले स्थापना गरेको लोकतान्त्रिक गणतन्त्र कुनै खराब व्यवस्था होइन। घोत्लिएर सोच्नुस्—त्यसमा भएका कमीकमजोरी कानुनी तरिकाले, ६ महिनापछि हुने निर्वाचनमार्फत सच्याउन सकिन्छ। तर अहिले संविधान विपरीत संसदबाहिरको व्यक्तिलाई ल्याएर अन्तरिम सरकार बनाउने प्रस्ताव गर्दा असम्बैधानिक चुनौती र कानुनी विवाद बढ्ने खतरा हुन्छ।
हाम्रो संविधानले संसदबाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउने कल्पना गरेको छैन। “बिद्रोहले सबै जायज हुन्छ” भन्ने सोच एक हदसम्म बुझ्न सकिन्छ, तर त्यसरी गैरसंवैधानिक बाटो खोज्दा न त सेनाले स्वीकार्छ, न त राष्ट्रपति मान्ने आधार देखिन्छ। दलका नेताहरू पलायन भएका पनि छैनन्। यस्तो अवस्थामा संविधानविपरीतको माग कति घातक हुन्छ भन्ने कुरा सोच्न आवश्यक छ।
तपाईँहरूको आन्दोलन शान्तिपूर्ण भन्नुभएकाे थियो तर व्यवहारमा हिंसात्मक भयो। पहिलो दिनजस्तै कठोर नेतृत्व भएको भए हजारौँ बलिदान भइसकेको हुन्थ्यो। सुरक्षा निकायले दोस्रो दिन आत्मसंयम र विवेक प्रयोग गरेर मात्र ठूलो दुर्घटना टारेको हो। खरबौँको सम्पत्ति क्षति भयो, आफ्ना कर्मचारीहरूको क्रूरतापूर्वक हत्या भयो, तर पनि सुरक्षाकर्मीले संयम अपनाएका कारण तपाईंहरूले आज आफ्नो आवाज राख्न पाउनुभएको छ।
अब भावनामा आएर संविधान च्यात्ने वा सेनालाई सत्तामा ल्याउने वातावरण नबनाउनुहोस्। त्यो तपाईंले सोचेभन्दा सयौँ गुणा घातक हुन्छ। जेनजी समूहभित्र हालसम्म कुनै प्रतिनिधि सांसद देखिँदैन, देखिए पनि परिपक्वता अभाव छ। ६ महिनाका लागि संसदमै रहेका असल व्यक्तिहरूमध्येबाट नेतृत्व चयन गर्ने बाटो संविधानको धारा ७६(५) अनुसार सम्भव छ। त्यो आंशिक भए पनि वैधानिक हुनेछ।
त्यसैले संसद् विघटनको माग नगर्नुहोस्। तपाईंले चाहेका सबै परिवर्तन संसद् संशोधनमार्फतै गर्न सकिन्छ। चुनाव ६ महिनापछि हुने भएकाले त्यही दबाब दिनु नै उत्तम बाटो हो। तपाईँहरूको आन्दोलन भ्रष्टाचार अन्त्य र सुशासनका लागि हो भने, दलभित्रका ईमानदार नेतासँग हातेमालो नगरी पार लाग्दैन।
यसबीचमा पुराना राजनीतिक दलहरू पनि पुनर्गठन भएर नयाँ नेतृत्वसहित युवाहरूलाई साथ दिनुपर्ने अवस्था आएको छ। अन्यथा ६ महिनाभित्र चुनाव हुन नसके फेरि अर्को अराजकता जन्मन सक्छ। हाम्रो समाजमा आगोमा घिउ हाल्ने, असफल भएपछि “मैले भनेको थिएँ” भनेर तर्क गर्नेहरूको कमी छैन।
जेनजी का युवाहरूमा जोश, जागर र दृढ इच्छा शक्ति छ। तर त्यो जोश विवेकसहित प्रयोग गर्न जरुरी छ। परिवर्तन केवल नेतृत्वमा मात्र नभई कानुन, प्रशासनिक संरचना, समाजको मानसिकता र व्यवहारमा पनि आवश्यक छ। त्यसका लागि देशव्यापी रूपमा संगठित भई, विज्ञहरूबाट सुझाव लिएर, विकसित मुलुकका सुधारका अभ्यास अध्ययन गरेर अघि बढ्नुपर्छ।
६ महिनापछि हुने चुनावमा यदि युवा पुस्ता प्रभावकारी रूपमा संसदमा प्रवेश गर्न सक्यो भने मात्र यो आन्दोलन ऐतिहासिक ठहरिनेछ। त्यसो भयो भने आज भएको क्षति पनि सार्थक हुनेछ। अन्यथा भोलिका पुस्ताले तपाईँहरूलाई नै गणतन्त्रको पतन गराएको पुस्ता भनेर दोषारोपण गर्न सक्छन्।
पुराना दलका नेताहरू—केपी शर्मा ओली, शेरबहादुर देउवा, आरजु राणा देउवा लगायत—ले यस्तो दिन आउने कल्पना गरेका थिए होला? पक्कै थिएन। समय बलवान् हुन्छ। अहिले बिग्रिएको केही छैन, जुम मै भए पनि छलफल निरन्तर गर्नुहोस्। तपाईंहरूको छलफल मैले पनि सुनेको छु—युवाहरूको सोच र तर्क देश बनाउनकै खालको छ।
जेनजी पुस्ता भाग्यमानी छ—जन्मैदेखि प्रविधीमैत्री। त्यसैले यो आन्दोलनलाई विवेकपूर्वक अघि बढाउनुहोस्। अन्यथा अन्तर्राष्ट्रिय शक्तिहरूले आफ्ना स्वार्थ घुसाउने सम्भावना बढ्छ र पछि हामी केही गर्नसक्ने अवस्थामा रहनेछैनौँ।
म पनि राज्यसँग न्याय र समानताको लागि जोखिम मोलेर लडेको र भोगेको व्यक्ति हुँ। त्यसैले यी सुझावहरू साङ्केतिक भए पनि बुझ्ने क्षमता तपाईंहरूसँग अवश्य छ। तपाईंहरूलाई खेल्न नदिऔं, बरु साथ दिऔं—त्यसैमा सबैको हित छ।
त्यसो गर्न सकियो भने मात्र देश गृहयुद्ध र वैदेशिक हस्तक्षेपबाट जोगिन सक्छ।
शुभकामना जेनजी !
–– लेखक पूर्व डीएसपी, हाल अधिवक्ता