काठमाडौँ । पछिल्लो समय तीज गीतको नाममा सार्वजनिक भइरहेका अपाच्य शब्द तथा उच्छृङ्खल भिडियोविरुद्ध राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको टिम नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेको छ।

आइतबार दिउँसो साइबर ब्युरो पुगेको टोलीले पाँचवटा विवादास्पद गीतविरुद्ध कारबाहीको माग गर्दै निवेदन दिएको प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले जानकारी दिइन्। उनका अनुसार पर्व विशेष गीत वा लोकगीतको नाममा सामाजिक मर्यादा, सहिष्णुता र मूल्य–मान्यतालाई असर पुर्‍याउने खालका सामग्री बढ्दै गएको गुनासो रहेको छ।

साइबर ब्युरो पुगेको टोलीमा प्रतिष्ठान अध्यक्ष रितासँगै रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, महासचिव शिव हमाल, सचिव पुष्कल शर्मा लगायतका लोककलाकार सहभागी थिए।

विशेषगरी तीज पर्वका गीतहरूमा अपाच्य शब्द, अश्लीलता र उच्छृङ्खल प्रस्तुति बढ्दै गएकाले कारबाही आवश्यक रहेको उनीहरूको भनाइ छ। प्रतिष्ठानले बुझाएको निवेदनमा कारबाहीको माग गरिएका सबै गीतहरू हालै तीजको सन्दर्भमा सार्वजनिक भएका हुन्।

यसअघि, दोहोरी प्रतिष्ठानको टिमले गृहमन्त्री रमेश लेखकलाई भेटेर यस्ता गीतविरुद्ध कारबाहीको माग गर्दै ज्ञापनपत्र पनि बुझाएको थियो। गृहमन्त्री लेखकले अपाच्य गीतमाथि कडाइ गर्ने प्रतिबद्धता जनाउँदै साइबर अपराधसम्बन्धी निगरानी गर्न साइबर ब्युरोमा छुट्टै फोकल पर्सन तोक्ने निर्देशन दिएका थिए।

“पहिला हामीले सम्झाउने प्रयास गर्‍यौं, केहीले गल्ती मानेर सच्चिए तर केहीले अटेरपूर्ण व्यवहार गरे, ‘जे सक्छौ गर’ भन्ने अभिव्यक्ति दिए। त्यसपछि प्रहरी प्रशासनसम्म जान बाध्य भयौं,” अध्यक्ष रिताले भनिन्।

यसै मुद्दामा राष्ट्रिय लोक संचारकर्मीको समूहले पनि गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्ता विकृतिपूर्ण गीतको विरुद्धमा राज्य संयन्त्रले ठोस कदम चाल्नुपर्ने माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय