काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवाका लागि तीव्र दौडधूप सुरु भएको छ। गत जेठ १६ गते ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएसँगै एसएसपीको दरबन्दी खाली रहेको संख्या ११ पुगेको हो।

एसपीबाट एसएसपीमा बढुवाका लागि गृहसचिव नेतृत्वको बढुवा सिफारिस समिति आवश्यक पर्छ। तर हाल गृहसचिव गोकर्णमणि दुवाडी देशबाहिर रहेका कारण बढुवा प्रक्रिया अगाडि नबढेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

रिक्त दरबन्दी भएको दुई साता बितिसक्दा पनि बढुवा प्रक्रिया अघि नबढेपछि प्रतिस्पर्धी अधिकृतहरूबीच बढुवाका लागि सक्रियता र दौडधूप तीव्र बनेको छ।

एसएसपी बढुवाका लागि हाल ०५३ सालदेखि ०५८ सालसम्म प्रहरी सेवामा प्रवेश गरेका अधिकृतहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। ०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भई पछि नेपाल प्रहरीमा स्थानान्तरण भएका एसपी विमल बस्नेत पनि एसएसपीको प्रतिस्पर्धामा छन्।

त्यसरी नै तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, दीपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाँल, दीपेन्द्र शाही, रामप्रकाश साह, प्रवीण धिताल, दयानिधि ज्ञवाली, भुवनेश्वर तिवारी, प्रकाश रानाभाट, कमल थापा लगायतका अधिकृतहरू बढुवा दौडमा छन्।

यसबाहेक राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रप्रसाद सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, अर्जुनप्रसाद तिमिल्सिना र रमेश पण्डित पनि बढुवाको लाइनमा रहेका छन्।

यी सबै अधिकृतहरू डीएसपीबाट विभिन्न समयमा एसपीमा बढुवा भएका हुन्। तर प्रतिस्पर्धीहरूमध्ये केहीले विभागीय कारबाही समेत भोगेका छन्। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार विभागीय कारबाहीमा परेका अधिकृतलाई बढुवाबाट रोक्ने गृह मन्त्रालयको तयारी छ।

एसएसपी प्राविधिकबाहेक नेपाल प्रहरीमा हाल ५७ दरबन्दी रहेको छ। यसपटकको बढुवामा ३३ जना प्रतिस्पर्धीमध्ये केवल ११ जनाको नाम सिफारिस गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय