काभ्रे – सशस्त्र प्रहरी बल नेपाल १५ नं. गण हेडक्वाटर, पाँचखालले काभ्रेपलाञ्चोक जिल्लामा विपद् व्यवस्थापन र प्रतिकार्यमा केन्द्रित तीन दिने स्वयंसेवक आधारभूत तालिम तथा विपद् सूचकसम्बन्धी अभ्यास अभियान सुरु गरेको छ।

गणले बनेपा नगरपालिकासँगको सहकार्यमा नगरका १४ वटै वडाबाट ८० जनालाई लक्षित गर्दै तालिम सञ्चालन गरेको हो। यही असार १० गतेदेखि सुरु भएको तालिम मङ्गलबारसम्म चल्नेछ। तालिममा विपद् पूर्व तयारी, उद्धार, राहत, पुनःस्थापना, समन्वय र प्रतिकार्यका व्यावहारिक पक्षहरूबारे सशस्त्र प्रहरीको विशेष टोलीले प्रशिक्षण दिइरहेको छ।

बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रत्येक नागरिकलाई विपद् सचेतना हुनु अत्यावश्यक रहेको बताए। “विपद् आउनुअघि पूर्वतयारी र त्यसपछि खोज, उद्धार तथा राहतमा समन्वयकारी भूमिका खेल्न सक्ने स्वयंसेवकहरूको आवश्यकता अझै बढेको छ,” उनले भने।

यसअघि, जेठ १२ गते पनौती नगरपालिकासँग सहकार्य गर्दै पनौतीका १२ वडाबाट ४० जनालाई लक्षित गर्दै अभियानको सुरुआत गरिएको थियो। सशस्त्र प्रहरी १५ नं. गणका प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाइँका अनुसार जिल्लाका १३ वटै स्थानीय तहमा चरणबद्ध रूपमा तीन दिने विपद् प्रतिकार्य तालिम सञ्चालन गरिँदैछ।

यो अभियान सशस्त्र प्रहरी बलको सामुदायिक विपद् प्रतिकार्य क्षमता विस्तार गर्ने दीर्घकालीन रणनीतिअन्तर्गत सञ्चालन गरिएको हो। तालिमबाट तयार पारिएका स्वयंसेवकहरू विपद्को समयमा सुरक्षाकर्मीहरूसँग सहकार्य गर्न सक्ने सक्षम जनशक्ति बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय