
सुर्खेत—सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, लाटिकोइलीबाट लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति बाराहताल गाउँपालिका–६ स्थायी घर भई हाल लाटिकोइलीमा डेरा गरी बस्दै आएका २६ वर्षीय कुशल रोकाय रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण शाखा र प्रहरीको संयुक्त टोलीले जेठ २३ गते साँझ साढे पाँच बजे उक्त स्थानमा छापा मारेको थियो।

छानबिनको क्रममा रोकायलाई शंकास्पद अवस्थामा फेला पारिएको र शारीरिक तथा डेरा कोठाको तलासी गर्दा तीन ग्राम दुई सय पचास मिलिग्राम (३.२५० ग्राम) ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेका रोकायलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढाथापाले जानकारी दिएका छन्।



