
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–१०, प्याङगाउँमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। अस्थायी प्रहरी बिट प्याङगाउँबाट खटिएको टोलीले विशेष चेकजाँचको क्रममा नियन्त्रित औषधि ट्रामाडोल र गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति रौतहट चन्द्रपुर नगरपालिका–३ निवासी २८ वर्षीय विजय कुमार स्याङ्तान हुन्। बुधबार बिहान बाराबाट काठमाडौँतर्फ आउँदै गरेको बा.६ च ६२८२ नम्बरको कारको डिक्कीमा लुकाईछिपाई राखिएको अवस्थामा ट्रामाडोल ५,०६० ट्याब्लेट र गाँजाजस्तो देखिने करिब २० ग्राम अवैध पदार्थ फेला परेको हो।

प्रहरीले स्याङ्तानलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
पछिल्लो समय कान्तिलोकपथ प्रयोग गरेर उपत्यकामा लागूऔषध भित्र्याउने क्रम बढ्दै गएको प्रहरीले जनाएको छ। केही समयअघि मात्र वागमती–३ स्थित छपेलीबाट पनि लागूऔषधसहित कारोबारीहरू पक्राउ परेका थिए।



