भक्तपुर – भक्तपुरमा सार्वजनिक सवारी साधनको अभावको मौका छोपेर अफलाइन राइड सेयरिङ मार्फत बढी भाडा असुल गर्ने चालकहरूविरुद्ध ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ थालेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, भक्तपुरका प्रमुख प्रहरी निरीक्षक प्रदीप खत्रीको नेतृत्वमा चेकजाँच अभियान तीव्र पारिएको हो। विशेष गरी छ लेन सडक अन्तर्गत सृजनानगर, राधेराधे र थिमी क्षेत्रमा चेकजाँच गरिँदै आएको छ।

ट्राफिक प्रहरीले अनलाइन प्रणालीबाहिर रहेर यात्रु बोकेका सवारी साधनहरूलाई रोक्ने, सोधपुछ गर्ने र नियम उल्लंघन भएमा कारबाही गरिरहेको छ। सोमबारदेखि मंगलबार मध्याह्नसम्मको अवधिमा नियम विपरीत यात्रु बोकिरहेका १० वटा सवारीसाधन र तिनका चालकहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक खत्रीले ननस्टप खबरलाई जानकारी दिए।

उनका अनुसार अफलाइन राइड सेयरिङको नाममा यात्रुहरूबाट बढी भाडा असुलिने मात्र होइन, अपराधको जोखिम पनि उच्च हुने भएकाले ट्राफिक प्रहरीले यस्तो गतिविधिमा संलग्न सवारीसाधनहरूमाथि निगरानी बढाएको हो।

अपराधको जोखिम र यात्रुहरूको सुरक्षा चासो

“राइड सेयरिङ गर्न चाहनेहरूले अनिवार्यरूपमा अनलाइन प्लेटफर्म प्रयोग गर्नुपर्छ,” प्रहरी निरीक्षक खत्रीले स्पष्ट पार्दै भने, “नियम नमान्नेहरूलाई नियन्त्रणमा लिइएको हो।”

पक्राउ परेका चालकहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ भने सवारी साधनहरू जिल्ला ट्राफिक कार्यालयको नियन्त्रणमा राखिएको जानकारी उनले दिए।

यस्ता घटनामा संलग्न चालकहरूविरुद्ध ठगी कसुरमा मुद्दा चलाउन सकिने कानुनी व्यवस्था रहेको प्रहरी स्रोतले जनाएको छ। त्यस्तै, ट्राफिक कार्यालयले यातायात नियमावली अनुसार जरिवाना र अन्य कारबाही गर्न सक्नेछ।

भक्तपुरका प्रहरी प्रमुख एसपी माधव बुढाथोकीले यात्रुहरूलाई आफैं पनि सतर्क हुन आग्रह गर्दै भने, “अफलाइन राइड सेयरिङ दुर्घटना वा आपराधिक घटना भएमा चालक उम्कन सक्ने जोखिम रहन्छ। चोरी, लुटपाट, जबर्जस्ती वा अपहरण जस्ता अपराध पनि बढ्न सक्छन्।”

उनले यात्रुहरूलाई अनलाइन राइड सेयरिङ सेवामै सीमित रहनु र अनधिकृत सवारीबाट यात्रा नगर्न सुझाव दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय