काठमाडौं । हनी ट्रयापको जालमा पारी करोडौं रकम असुलेको आरोपमा गोरखा घर भएकी तारा गुरुङ २९ दिनदेखि ललितपुर प्रहरीको हिरासतमा छन्। पीडित व्यवसायीको उजुरीका आधारमा प्रहरीले गुरुङलाई गत बैशाख २० गते शनिबार पक्राउ गरेको थियो।

३३ वर्षीया गुरुङमाथि आपराधिक लाभ लिएको अभियोगमा मुद्दा चलाइएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धानपछि जेठ ९ गते सरकारी वकिलमार्फत तीन वर्ष कैद सजाय माग गर्दै फाइल पेश गरेको थियो। मुद्दा जेठ १४ गते ललितपुर जिल्ला अदालतमा दर्ता गरिएको छ भने आज सोमबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा पेशी तय भएको छ।

घटनाको पृष्ठभूमि—

२०७८ सालमा बालाजुको एक दोहोरी साँझमा ती व्यवसायी र ताराबीच भेटघाट भएको थियो। चिनजानको एक हप्तामै उनले ती व्यवसायीबाट रकम असुल्न थालिन्। विभिन्न बहानामा ताराले व्यवसायीलाई पटक–पटक रकम ट्रान्सफर गराउन लगाइन्। उनको खातामा ४९ लाख ६२ हजार ३९० रुपैयाँ जम्मा गराइएको थियो भने अरु नाममा बहिनी, नाबालक बच्चा र सुन पसलेका खातामा गरी झण्डै ५० लाखभन्दा बढी रकम स्थानान्तरण गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ। पीडितले कुल ६० पटक ताराको खातामा रकम पठाएका थिए।

पीडितका अनुसार सपिङ, नगद सहयोग, र अन्य बहानामा कुल १ करोड ३० लाखभन्दा बढी रकम तारा गुरुङले असुलेकी थिइन्। धम्की, मानसिक यातना र बदनामीको डरले पीडितले लामो समय चुप बसेका थिए।

बलात्कार मुद्दाको डर देखाएर रकम असुली—

ताराले पीडितलाई बलात्कारको झुटो मुद्दा हाल्ने धम्की दिँदै रकम असुलिरहिन्। दुई वर्षअघि पीडितले तारासँग सहमति गरेर २० लाख बुझाए पनि धम्की रोकिने नाममा थिएन। सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेर बेइज्जत गर्ने, मिडिया र प्रहरी कार्यालयअगाडि फोटो खिचेर धम्क्याउने कार्य निरन्तर चलिरह्यो।

पीडितले मानसिक तनावका कारण आत्महत्यासम्मको प्रयास गरेको बताएका छन्। ताराले दाङका ती व्यवसायी मात्र नभई नुवाकोट घर भई हाल नयाँबजार बस्ने अर्को व्यक्तिसँग पनि लाखौं रुपैयाँ असुलेर उसको घरबार समेत विगारेको उजागर भएको छ।

नेपालको फौजदारी अपराध संहिता, २०७४ अनुसार, आपराधिक विश्वासघात तथा लाभ लिएको पुष्टि भए १ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय