महोत्तरी, जेठ १८ । बढ्दो सवारीसाधन दुर्घटनालाई न्यून गर्न महोत्तरीमा ट्राफिक प्रहरीले ‘सडक सुरक्षा सप्ताह’ मनाउने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न जेठ २२ गतेदेखि सातदिने सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो।

कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सप्ताहको पहिलो दिन (जेठ २२ गते बिहीबार) जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, नागरिक समाजका प्रतिनिधि, यातायात व्यवसायी, चालक तथा मजदुरहरूको सहभागितामा प्रभातफेरी गरिने छ। यस अभियानमार्फत सडक सुरक्षाप्रति जनचेतना फैलाउने उद्देश्य लिइएको हो।

सप्ताहको दोश्रो दिन (जेठ २३ गते) जलेश्वरमा सवारी दुर्घटना उद्धार अभ्यास सञ्चालन गरिनेछ। यसले आपतकालीन अवस्थामा कसरि उद्धार गर्ने भन्ने विषयमा नागरिक तथा चालक वर्गमा व्यवहारिक ज्ञान दिने अपेक्षा गरिएको छ।

तेश्रो दिन (जेठ २४ गते) सवारीसाधनको प्राविधिक परीक्षण तथा चेकजाँच कार्यक्रम, चौथो दिन (जेठ २५ गते) बर्दिबासमा रक्तदान कार्यक्रम, पाँचौँ दिन (जेठ २६ गते) सार्वजनिक सवारी साधन चलाउने चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिने प्रहरी निरीक्षक जोशीले जानकारी दिए।

छैटौँ दिन (जेठ २७ गते) मोटरसाइकल चालकहरूलाई लक्षित गरी हेल्मेट प्रयोगसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ। यसका साथै भारतीय सीमावर्ती क्षेत्र सम्सी नाकामा पर्ने हुलाकी सडकको सम्सीचोकमा ट्राफिक सचेतनासम्बन्धी सडक नाटक प्रदर्शन गरिनेछ। यस प्रकारका सांस्कृतिक प्रस्तुति मार्फत जनचेतना सशक्त बनाउने लक्ष्य राखिएको छ।

सप्ताहको अन्तिम दिन (जेठ २८ गते) पत्रकार र यातायात व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ। सोही दिन कार्यक्रमको समापन गरिनेछ।

प्रहरी निरीक्षक जोशीका अनुसार यस्ता कार्यक्रमले सडक सुरक्षाप्रति नागरिक, चालक तथा सरोकारवाला निकायहरूलाई जिम्मेवार र सचेत बनाउन सहयोग पुग्नेछ। पछिल्ला वर्षहरूमा सवारीसाधनको संख्यामा तीव्र वृद्धि भएसँगै दुर्घटनाको जोखिम बढिरहेको सन्दर्भमा ट्राफिक प्रहरीले सार्वजनिक सहभागितामूलक सचेतना कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय