काठमाडौँ — आफूलाई नेपाली सेनाको मेजर भन्दै ट्याक्सी चालकलाई धाकधम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–७ स्थायी घर भई हाल भक्तपुरको ताथलीमा बस्दै आएका ३८ वर्षीय रुद्रराज कार्की रहेका छन्।

भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज न्यौपानेका अनुसार कार्की कौशलटारबाट बा.प्र.०१–००२ ज ६७३९ नम्बरको ट्याक्सी चढेका थिए। भाडा तिर्नुपर्नेमा उनले ट्याक्सी चालक मनोज न्यौपानेलाई आफू मेजर भएको भन्दै धम्क्याएका थिए।

भाडा नतिरेपछि पीडित चालकले प्रहरीमा खबर गरेका थिए। त्यसपछि कार्कीलाई मध्यपुर ठिमी नगरपालिका–२, व्यासीबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए।

यसैबीच, नक्कली डिएसपी बनेर ठगी गर्ने अर्का एक जना पनि भक्तपुरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहा बारियारपट्टी गाउँपालिका–५ का २७ वर्षीय काशिन्द्र कुमार ठाकुर रहेका छन्, जो हाल काठमाडौंको जोरपाटीमा बस्दै आएका थिए।

काशिन्द्रले मध्यपुर ठिमी नगरपालिका–२, दिव्यश्वरी क्षेत्रमा पीडितहरूलाई पैसा फिर्ता गराइदिने भन्दै आफूलाई डिएसपीको परिचय दिने गरेका थिए।

ठगीसम्बन्धी सूचनाका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले सर्वसाधारणलाई यस्ता नक्कली परिचय पेस गर्ने व्यक्तिबाट सतर्क रहन र यस्ता घटनाबारे नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय