
बाँके — भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गर्ने क्रममा पाँच लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरस्थित चेकपोष्टमा शंका लागेर जाँच गरिएको एक गाडीबाट सो रकम फेला परेको हो।
भारत, उत्तर प्रदेशको लखनऊ जिल्ला निवासी ४० वर्षीय निरज चौरानि चालक रहेको UP 32 LB 6389 नम्बरको सुजुकी गाडीमा जाँच गर्दा भारतीय रुपैयाँ दर ५०० का ६०० थान र दर २०० का १,००० थान गरी कुल ५,००,००० रुपैयाँ (पाँच लाख) बरामद गरिएको बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिएका छन्।

गाडीमा सवार रहेका अर्का व्यक्ति दाङ, साविक पुरन्धारा गाविस–१ की २६ वर्षीया साईना नेपाली समेतलाई सोही नगद र गाडी सहित नियन्त्रणमा लिइएको हो।
बरामद गरिएको रकम, गाडी र दुवै जना पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको प्रहरीले जनाएको छ।



