
काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को डिएसपी हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक–२ बालकोट निवासी ४१ वर्षीय अनिल थापा रहेका छन्। उनलाई सिआइबीले मध्यपुर ठिमी नगरपालिका–५ बाट मंगलबार नियन्त्रणमा लिएको हो।
थापाले आफूलाई सिआइबीको डिएसपी भन्दै जबरजस्ती करणीको मुद्दा मिलाइदिने भन्दै एक व्यक्तिबाट ८ लाख ४० हजार रुपैयाँ ठगी गरेका थिए। सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार, थापा यसअघि पनि २०७५ सालमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा पक्राउ परिसकेका थिए।

उनीविरुद्ध जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद लिई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
त्यस्तै, आफूहरू प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) भएको झुट बोलेर ठगी गर्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुर थाहा नगरपालिका–७ का ३४ वर्षीय रामकुमार सापकोटा र बाजुरा बुढिनन्दा नगरपालिका–३ का २८ वर्षीय ओब्जन चदारालाई कीर्तिपुरको ट्यांलाफाँटबाट मंगलबार नियन्त्रणमा लिएको हो।
उनीहरूले दुबईमा वैदेशिक रोजगारीको लागि जाने एक पीडित व्यक्तिबाट ठगिएको ३० लाख रुपैयाँ उठाइदिने बहानामा ४ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए। पीडितबाट ग्लोबल आइएमई बैंकको २ लाख ५० हजारको चेक काटेपछि शंका उत्पन्न भएको थियो। त्यसपछि पीडितले प्रहरीमा उजुरी दिएपछि उनीहरू पक्राउ परेका हुन्।
हाल सापकोटा र चदारालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ।



