
विराटनगर, जेठ १३ — कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले आज जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गर्नुभएको छ। भ्रमणको क्रममा कार्यालय भवन, शाखाहरू तथा हिरासत कक्षको स्थलगत निरीक्षण गर्दै उहाँले समाजमा शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्न कसैको दबाब वा प्रभावमा नपरी कर्तव्यनिष्ठ रूपमा कार्य गर्न प्रहरीलाई निर्देशन दिनुभयो।
निरीक्षणकै क्रममा प्रमुख कार्कीले प्रहरी कर्मचारीलाई सामूहिक भावना, आपसी भाइचाराको भावना तथा द्रुत, प्रभावकारी सेवा प्रवाहको आवश्यकता औंल्याउँदै अपराध नियन्त्रण, लागुऔषध कारोबार नियन्त्रण, चोरी–तस्करी रोकथाम, सवारी दुर्घटना न्यूनिकरण, र ट्राफिक नियम उल्लंघनमा कडाइ अपनाउन निर्देशन दिनुभयो। साथै, सवारी साधनको प्रयोगमार्फत हुन सक्ने सम्भावित आपराधिक गतिविधिमा निगरानी तथा चेकजाँच प्रणाली थप कडा बनाउन पनि निर्देशन दिनुभयो।

उहाँले प्रहरी ऐन, नियमावली र तालुक कार्यालयबाट प्राप्त निर्देशनहरूको पूर्ण पालना गर्न, तल्लो तहसम्म सूचनाको प्रवाह र कार्यान्वयन सुनिश्चित गर्न, चेकजाँचको क्रममा सभ्य तथा शिष्ट भाषा प्रयोग गर्न, आम नागरिकसँग समान व्यवहार कायम राख्न र सामाजिक सञ्जालको सकारात्मक उपयोगमार्फत प्रहरी संगठनको छवि उजागर गर्नुपर्नेमा जोड दिनुभयो।
प्रमुख कार्कीले विशेष रूपमा वर्षायाममा पहाडी जिल्लामा आउने बाढी, पहिरोजस्ता प्राकृतिक विपदमा नागरिकको सुरक्षाका लागि तत्काल उद्धार कार्यमा परिचालन हुन सक्नेगरी तयारी अवस्थामा रहनुपर्ने पनि बताउनुभयो।
निरीक्षण भ्रमणका क्रममा जिल्ला प्रहरी प्रमुख हरिहरनाथ योगीले प्रमुख कार्कीसमक्ष उदयपुर जिल्लाको शान्ति सुरक्षा अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्ययोजना तथा सुरक्षा चुनौतीहरूको विस्तृत प्रस्तुती दिनुभयो।



