
काठमाडौं, जेठ १२ – जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीको प्रमुख आतिथ्यता र काठमाडौं महानगरपालिका–२१ नं. वडा अध्यक्ष उदय चुडामणी बज्राचार्यको अध्यक्षतामा प्रहरी बिट यंगालको उद्घाटन तथा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी वृत्त जनसेवा र काठमाडौं महानगरपालिका–२१ नं. वडा कार्यालयको संयुक्त आयोजनामा यंगाल मलको सभाहलमा आयोजित उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य, सामुदायिक प्रहरी सेवा केन्द्र महाँकालका उपाध्यक्ष पवित्र बज्राचार्य, विभिन्न वडाका वडा अध्यक्षहरू, नागरिक अभियन्ताहरू, सामाजिक संस्थाका प्रतिनिधिहरू, रेडक्रस, स्काउट तथा सञ्चारकर्मीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य स्थानीय जनताको सुरक्षासम्बन्धी चासोलाई प्रहरीसँग प्रत्यक्ष संवादमार्फत समाधान गर्नु, प्रहरी सेवा पहुँचलाई थप सुदृढ बनाउनु तथा प्रहरी–समुदाय सम्बन्ध अझ बलियो बनाउनु रहेको आयोजकहरूले जनाएका छन्।
कार्यक्रममा बोल्दै एसएसपी अधिकारीले समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउन प्रहरी सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै, “समस्याको समाधान संवादबाट खोज्न नागरिक र प्रहरीबीचको सहकार्य आवश्यक छ,” भनेका थिए।




