रुकुम पूर्व — रुकुम पूर्व जिल्ला अस्पतालमा उपचाररत ३ वर्षीया बालिकालाई आवश्यक परेको रगत नपाउँदा संकटमा परिरहेको अवस्थामा प्रहरी नायब निरीक्षक (प्र.ना.नि) मधु थापाले आफ्नो अमूल्य रक्तदान गरेर बालिकाको ज्यान बचाउने सराहनीय कार्य गरेका छन्।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ की पुर्णीमा सुनारकी छोरी ईस्टर सुनार विरामी भएर जिल्ला अस्पतालमा उपचाररत थिइन्। उपचारको क्रममा चिकित्सकले तत्काल रगत आवश्यक पर्ने जानकारी गराएपछि अस्पतालमा रगत अभाव देखिएको थियो।

त्यसैबेला खबर पाएलगत्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुकुम पूर्वमा कार्यरत प्र.ना.नि मधु थापाले कुनै हिचकिचाहट नगरी रक्तदान गरेर आफ्नो मानवीय कर्तव्यको अनुपम उदाहरण प्रस्तुत गरेका हुन्।

उनको यस दया, सहानुभूति र सक्रियताको परिणामस्वरूप बालिकाको उपचारमा सहजता आएको र अहिले अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ।

सामाजिक उत्तरदायित्वको भावनाले प्रेरित भएर गरिएको प्रहरी थापाको यस कार्यले नेपाल प्रहरीको जनमैत्री भूमिकालाई झनै मजबुत बनाएको छ।

स्थानीयवासी, बिरामीका परिवार र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको यो कामलाई “निःस्वार्थ सेवा भावको प्रतीक” भन्दै खुलेर प्रशंसा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय