
कैलाली—नेपाल प्रहरीको व्युरोबाट खटिएको भनेर ठगी गर्दै हिँड्ने एक युवकलाई धनगढीमा पक्राउ गरिएको छ।
पक्राउ पर्ने युवक धनगढी उप–महानगरपालिका–०५, शिवनगर बस्ने २६ वर्षीय निराजन थापा हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता /डिएसपी राजकुमार सिंहका अनुसार ,थापा धनगढी उप–महानगरपालिका–०४ स्थित बसपार्कमा रहेको धामी होटलमा विगत केही दिनदेखि पटक–पटक गई आफू प्रहरीको ब्युरोबाट आएको बताउँदै होटल सञ्चालकसँग रकम माग गर्दै आएका थिए।
होटल सञ्चालक मोहन सिंह धामीलाई उनको गतिविधिमा शंका लागेपछि प्रहरीलाई खबर गरिएको थियो।प्राप्त सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको कैलाली प्रहरीले जानकारी दिएको छ।
हाल थापालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।



