
राधाकृष्ण देउजा/अमेरीका —हालसालै नेपाल सरकारका माननीय गृह मन्त्री श्री रमेश लेखकमाथि मानव तस्करीको संगठित गिरोहसँग सम्बन्धित भएको आरोपहरू सार्वजनिक भएका छन्। सञ्चारमाध्यममा आएका समाचार र खुलासाले जनमानसमा गम्भीर प्रश्नहरू खडा गरेका छन्। यद्यपि मन्त्रीज्यूले आफूमाथि लागेको आरोप प्रमाणित भए राजनीतिबाट सन्यास लिने सार्वजनिक अभिव्यक्ति दिनु भएको छ, तर यस्तो गम्भीर मुद्दामा केवल शब्दले मात्रै पुग्दैन—कृयाले नै विश्वस्त गराउनुपर्ने अवस्था आएको छ।
एक सजग नागरिकको नाताले हामी यत्ति मात्र भन्छौं: यदि तपाईं साँच्चै निर्दोष हुनुहुन्छ भने, निस्पक्ष र स्वतन्त्र छानबिन सुनिश्चित गर्न राजीनामा दिनु नै तपाईंको नैतिक जिम्मेवारी हो।

गृह मन्त्रालय, जसले देशको कानून व्यवस्था, अनुसन्धान संस्था र सुरक्षा संयन्त्रहरूको कमाण्ड सम्हाल्दछ, त्यसका प्रमुखकै विरुद्ध जब यति गम्भीर आरोप लाग्दछ, त्यस्तो अवस्थामा निष्पक्ष अनुसन्धान सम्भव नहुने यथार्थ हामीले अघिल्ला घटनाहरूमा देखिसकेका छौं। मन्त्रीज्यू, तपाईंकै अगुवाइमा विगतमा यही मन्त्रालयका एक पूर्वमन्त्रीलाई पदबाट राजीनामा गर्न वाध्य पारिएको थियो, जब उनीमाथि अनुसन्धान सुरु भएको थियो। त्यसैको स्मरण गर्दै, आज तपाईंको पालोमा त्यो उदाहरण आत्मसात गर्न जरुरी छ।
न्यायको मूल सन्देश नै “निष्पक्षता” हो। तपाईंले निर्दोष हुनुहुन्छ भन्ने दाबी गर्नु भएको छ भने, त्यसको सबैभन्दा विश्वसनीय बाटो भनेको स्वतन्त्र छानबिनलाई मार्ग प्रशस्त गर्नु हो, जसको पहिलो कदम राजीनामा हो। जब तपाईं आफैं मन्त्रालयको नेतृत्वमा हुनुहुन्छ, तब अनुसन्धान संस्थाहरूले साँच्चिकै स्वतन्त्र रूपमा काम गर्न सक्दैनन्—यो यथार्थ हो। त्यसैले मन्त्रीज्यू, शब्दमा मात्रै होइन, आचरणमा पनि निष्ठा देखाउने बेला आएको छ।
देशले तपाईंको साहसिक निर्णय पर्खिरहेको छ। यदि तपाईं दोषी हुनुहुन्न भने, निस्सन्देह छानबिनले तपाईंलाई निर्दोष ठहर गर्नेछ र तपाईं अझ सशक्त रूपमा जनताको विश्वास प्राप्त गर्नु हुनेछ। तर यदि तपाईं पदमा टिकिरहनु भयो भने अनुसन्धान नै शंकाको घेरामा पर्नेछ, जुन दीर्घकालमा तपाईंको राजनीतिक जीवन, पार्टीको छवि र आमनागरिकको विश्वास सबैका लागि घातक सावित हुनेछ।
अन्त्यमा, यो आग्रह गरिन्छ—“सच्चा नेता त्यसैले ठानिन्छ, जसले कठिन क्षणमा पनि नैतिक साहस देखाउँछ।” त्यसैले, माननीय मन्त्रीज्यू, पद छोड्नुहोस्, स्वतन्त्र अनुसन्धानलाई सहज बनाउनुहोस् र यदि तपाईं निर्दोष हुनुहुन्छ भने, निश्चय पनि फेरि जनताको सम्मानसाथ फर्कनु हुनेछ।



