काठमाण्डौं— जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएको नौ दिनमै प्रहरी नायव उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसी प्रहरी प्रधान कार्यालय, नक्साल तानिएका छन्। कार्यालयमा केही दिनअघिमात्रै कार्यभार सम्हालेका डीएसपी केसीले विभागीय अनुशासन तोडेको गम्भीर आरोपमा कारबाहीको प्रक्रिया सुरु भएको हो।

स्रोतका अनुसार, डोल्पा जिल्ला प्रहरी कार्यालयमा मुद्दा फाँटमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) शैलेन्द्र कुमार रसाईलीमाथि उनले अपमानजनक व्यवहार गर्दै हातपात गरेका थिए। डीएसपी केसीले सई रसाईलीलाई कार्यालयमै बोलाई अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका र हातपात समेत गरेको घटना सार्वजनिक भएपछि उक्त विषयमा उजुरी परेको थियो। उजुरीपछि केन्द्रीय कार्यालयले तत्कालै कदम चालेको हो।

गम्भीर घटनापछि तत्काल सरुवा

१५ वैशाखमा डोल्पा पुगेका डीएसपी केसीले कार्यभार सम्हालेको हप्ता दिन नपुग्दै विवादमा तानिए। पाँच वर्षदेखि मुद्दा फाँटमा कार्यरत सई रसाईलीमाथि कुटपिटको आरोप लागेपछि उनलाई हेडक्वार्टरले तत्काल काठमाडौँ तान्ने निर्णय गरेको हो। हेडक्वार्टरको आदेशपछि डीएसपी केसी सार्वजनिक बसमार्फत राजधानी फर्किएका थिए।

घटनाको गम्भीरताका कारण कर्णाली प्रदेश प्रहरी कार्यालयले छानबिनका लागि विशेष टोली खटाएको छ। प्रदेश प्रहरी कार्यालयका डीएसपी नारायण डाँगी नेतृत्वको टोली डोल्पा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। टोलीले सई रसाईली, प्रत्यक्षदर्शी प्रहरी कर्मचारीहरू, र घटनास्थलको विवरण संकलन गरिरहेको छ।

प्रहरी संस्थाभित्र अनुशासनमाथि प्रश्न—

सार्वजनिक सुरक्षाका लागि खटिएका उच्च तहका प्रहरी अधिकृतले आफ्नै मातहतका कर्मचारीमाथि कुटपिट गर्नुले प्रहरी संगठनभित्रको अनुशासन र व्यवहारमा गम्भीर प्रश्न उठाएको छ। पछिल्ला दिनहरूमा प्रहरी संगठनभित्र शक्ति प्रदर्शन, व्यक्तिगत रिसइवी र आचरणसम्बन्धी घटनाहरू बढ्दै गएका सन्दर्भमा डोल्पाको यो प्रकरणलाई गम्भीर रूपमा हेरिएको छ।

प्रहरी संगठनभित्र आन्तरिक अनुशासन कायम गर्न र मातहत कर्मचारीहरूको मनोबल जोगाउन यस्ता घटनामा निष्पक्ष छानबिन र यथोचित कारबाही आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय