
काठमाण्डौं। आध्यात्मिक ऊर्जा र भक्ति भावनाले ओतप्रोत ‘जय श्रीराम’ भजनको भिडियो यही शुक्रबार पोखराको गण्डकी कोटिहोमबाट विशेष समारोहका बीच सार्वजनिक गरिने भएको छ। भजनको भिडियो विष्णुमाया पौडेल युट्युब च्यानलमार्फत विश्वव्यापी रूपमा सार्वजनिक गरिनेछ।
आर.बी. केसीको शब्द, संगीत तथा निर्देशनमा तयार पारिएको यो भजन केवल एक गीत नभई शाश्वत प्रेम, श्रद्धा र समर्पणको आध्यात्मिक अभिव्यक्ति हो। भजनको सुरुवात “हरपल लिन्छु प्रभुकै नाम, हृदयमा बास छ सिताराम” भन्ने भावपूर्ण हरफबाट हुन्छ, जसले प्रेम, शान्ति र धर्ममार्गतर्फ सबैलाई आकर्षित गर्छ।

मुख्य स्वरमा विष्णुमाया पौडेल र शेरबहादुर विसीको आत्मस्पर्शी गायन सुन्न सकिन्छ, जसमा हेमन्त भट्टराई, आर.बी. केसी र स्वयं गायक/गायिकाहरूको कोरसले दिव्यता थपेको छ। कलाकारहरूले गीतमा केवल स्वर मात्र नभई अभिनयमार्फत पनि आफ्ना भावना अभिव्यक्त गरेका छन्, जसले भिडियोको दृश्य प्रभावलाई थप जीवन्त बनाएको छ।
भिडियोमा कमल ढकाल मुख्य पात्रको भूमिकामा प्रस्तुत छन्। निर्माण पक्षका अनुसार, उनको अभिनय काठमाडौं महानगरका मेयर जस्तै ऊर्जावान, प्रतिबद्ध र प्रेरणादायी छ। भिडियो पोखरा, काठमाडौं र जनकपुरका विभिन्न आध्यात्मिक स्थलहरूमा तीन दिनसम्म रेड क्यामराबाट छायांकन गरिएको हो। टेकेन्द्र शाहको सम्पादन र एस.के. श्रेष्ठको कोरियोग्राफीमा तयार पारिएको यो भिडियो पवित्रता र भक्ति भावनाको अनुभूति गराउनेछ।

यस भजनको अडियो संस्करण केही दिनअघि गण्डकी कोटिहोमबाटै सार्वजनिक गरिएको थियो। अडियो विमोचन कार्यक्रम विजयकृष्ण मूर्ति महाराज र श्रीमद्भागवत अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको उपस्थितिमा सम्पन्न भएको थियो। उनीहरूद्वारा प्रदान गरिएका आध्यात्मिक आशिष तथा सन्देशहरू पनि भिडियोमा समावेश गरिएको छ।
शुक्रबार हुने भव्य सार्वजनिक कार्यक्रममा गीतकार, संगीतकार तथा निर्देशक आर.बी. केसी, गायक/गायिका, कलाकारहरू, सञ्चारकर्मी, धर्मप्रेमी र श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।
निर्माण टोलीका अनुसार, ‘जय श्रीराम’ हालसम्मकै उच्च बजेटमा निर्माण गरिएको नेपाली भजन हो। यो केवल संगीत नभई श्रीरामप्रतिको प्रेम, श्रद्धा र आध्यात्मिक समर्पणको उज्यालो संगम हो, जसले प्रत्येक दर्शक र श्रोताको हृदयमा शान्ति, विश्वास र सकारात्मक ऊर्जा प्रवाहित गर्नेछ।




