आयो र गयो “आमा हेर्ने दिन”,
सेल्फी र स्टाटसको भीडमा हरायो किन?
थप्थ्यौं तिमीलाई कहिल्यै नसकिने मायाले,
आज थपिन्छ केही थान बनावटी पोस्टले।

बजारभरि गिफ्ट प्याक राखिन्छ,
तर आमा त एउटी कुनामा थाकिन्छ।
फोनको स्क्रिन उज्यालो हुन्छ,
आमाको अनुहार सुनसान बन्दछ।

“आमा माया गर्छु” भन्ने एक लाइन,
तर वर्षौंदेखिको चिसो व्यवहार कहिले तात्ने?
पचासौं कमेन्ट, सयौं लाइक खोज्ने मन,
तर आमाको हात समाएर बस्न कहिल्यै फुर्सद नपाउने यो जीवन।

आमाले बटुलेको स्नेह हामीले त फ्याक्यौं,
कठोर शहरका सपना पछाडि आमाको सपना त च्यात्यौं।
सस्तो देखाउने मायाको भिख माग्यौं,
तर आमा सम्झिने समयमै धोक्यौं।

आमाले दिएको न्यानो काख भुल्यौं,
एसी र मोटरसाइकलमा बसी, त्यो कष्ट भुल्यौं।
आमाको चप्पलका छाला फुटेका थिए,
तर हामी ब्राण्डेड जुत्ताको गर्व गर्दै हिँड्यौं।

आमा… तिमी त अझै पर्खिरहेकी छौ,
छोरा छोरी एकछिन काखमा फर्किन्छन् कि भनेर।
तर हामी त…
केवल फोटो हालेर, केही मिनेटका लागि “आदर्श सन्तान” बन्न पुगेका छौं ।

✍️ रूपेश घिमिरे 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय