
काठमाडौं । पिंगलास्थानस्थित एक डिजिटल स्टुडियो सञ्चालकलाई अपहरण गरी कुटपिट गर्दै फिरौती असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
रुपन्देहीका ६० वर्षीय विष्णु न्यौपानेलाई स्टुडियोबाटै नियन्त्रणमा लिएर बागमती करिडोर क्षेत्रमा पुर्याई धम्की दिँदै ५० हजार रुपैयाँ फिरौती असुलेपछि निलोपुल क्षेत्रमा छाडिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा योगेन्द्र पौडेल र रवीन कोइरालालाई पक्राउ गरिएको छ। उनीहरूले आफूलाई सामाजिक अभियन्ता, वैदेशिक रोजगार सहयोगी तथा उद्धारकर्मीका रूपमा चिनाउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न परिचयपत्र, चेकबुक र मोबाइल बरामद गरेको छ। घटनामा थप व्यक्तिको संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



