
सुरक्षा सरोकार , काठमाडौं — गृह मन्त्रालयले नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त १० वटा डीआईजी पदपूर्तिका लागि सिफारिस प्रक्रिया चाँडै अघि बढाउने तयारी थालेको छ। यससँगै राष्ट्रिय अनुसन्धान विभाग (राअ) बाट समायोजन भएर प्रहरी सेवामा आएका अधिकृतहरूको बढुवा विभेदबारे पुनः चासो र चिन्ता बढेको देखिएको छ।
तत्कालीन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको टोली अवकाश भएपछि रिक्त भएका ६ एआईजी पदमा बढुवा भएसंगै डीआईजी पदमा १० स्थान खाली भएका हुन्।

२१ योग्य एसएसपीमध्ये १० जनाको मात्र बढुवा—
डीआईजी पदका लागि योग्य ठहरिएका एसएसपीहरूको संख्या २१ रहेको छ। तीमध्ये २०७९ असार २५ मा बढुवा भएका ६ जना र २०८० वैशाख २४ मा बढुवा भएका १५ जना छन्। अबको सिफारिसबाट १० जनामात्र डीआईजी बन्नेछन्।२०७९ मा बढुवा भएका अधिकतम एसएसपीहरू पहिले नै डीआईजी बनिसकेका छन् भने कोही अवकाश भइसकेका छन्।
अहिले भर्खरै सम्पन्न एआईजी बढुवामा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी र हिमालयकुमार श्रेष्ठ जस्ता अधिकृतहरू पनि प्रतिस्पर्धामा थिए, तर उनीहरू सबै सिफारिसबाट बाहिर परे। यसपटक पनि राअ समायोजित टोलीलाई उपेक्षा गरिने संकेत देखिँदैछ।
समायोजनको पृष्ठभूमि—
यो टोलीलाई तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काको कार्यकालमा नेपाल प्रहरीमा स्थानान्तरण गरिएको थियो। सुरुमा तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) अच्युतकृष्ण खरेलले राअबाट प्रहरीमा अधिकृत ल्याउने प्रस्ताव अस्वीकार गरेका थिए। तर, खरेल हटेपछि प्रदीपशमशेर जबरा आईजीपी नियुक्त भएपछि, २०५८ पुस २५ मा ३० जना इन्स्पेक्टरसहित ४६ जना अधिकृतलाई नेपाल प्रहरीमा समायोजन गरिएको थियो। समायोजनपछि कांग्रेस प्रतिपक्षमा रहँदा यी अधिकृतहरू प्रायः बढुवामा पछि परिरहे। यद्यपि, केही सदस्यहरू विवादमा मुछिए पनि कैयौं अधिकृतहरू व्यावसायिक रूपमा अब्बल ठहरिएका छन्।
एक अधिकृत भन्छन्, “हामी पनि लोकसेवा आयोगबाटै पास भएर आएका हौं, तालिम पनि लिएका हौं, तर व्यवहारमा सधैं फरक दर्जाको अधिकारीझैं व्यवहार गरिन्छ।” करिब दुई दशकको पेशागत अनुभवपछि पनि विभेद हुँदै आएको उनीहरूको गुनासो छ।
राअ टोली फेरि विभेदमा पर्ला?
विगतका बढुवा प्रक्रियामा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदीजस्ता अधिकारीहरू योग्य भए पनि डीआईजी वा एआईजीमा समावेश हुन सकेनन्। २०७९ असारमा बढुवा भएका उनीहरूभन्दा पछिका अधिकृतहरू डीआईजी बनिसकेको अवस्थामा राअ टोली फेरि पछाडि पर्ने चिन्ता गहिरिएको छ।
को – को छन् प्रमुख प्रतिस्पर्धीहरू— २०८० वैशाख २४ को बढुवाबाट हाल वरीयतामा रहेका प्रमुख प्रतिस्पर्धीहरू:
1. विश्व अधिकारी (जिल्ला प्रहरी परिसर, काठमाडौं प्रमुख)
2. सोमेन्द्रसिंह राठौर (त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख)
3. भूपेन्द्रबहादुर खत्री
4. सानुराम भट्टराई
5. ओमप्रसाद अधिकारी
6. शेखर खनाल
7. अभिनारायण काफ्ले
8. मुकुन्द मरासिनी
9. दीपसमशेर जबरा
अन्य योग्य प्रतिस्पर्धीहरूमा गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा रप्रज्वल महर्जन छन्।
साथै, २०८० कात्तिक २४ मा एसएसपीमा बढुवा भएका वसन्त रजौरे पनि डीआईजीको दौडमा छन्। उनीसँगै बढुवाभएका अन्य अधिकृतहरू भने अवकाश भइसकेका छन्।
गृह मन्त्रालयले चाँडै सिफारिस प्रक्रिया अघि बढाउने तयारी गरिरहेको सन्दर्भमा, राअ समायोजित टोली फेरि उपेक्षा हुनेहो कि भन्ने बहस गहिरिँदै गएको छ। योग्यताको आधारमा निष्पक्ष मूल्याङ्कन गरिएमा, राअका अधिकारीहरू पनिडीआईजी पदका लागि सशक्त प्रतिस्पर्धी हुनेमा दुईमत छैन।



