
नमस्ते, म कानुन संकायमा अध्ययनरत विद्यार्थी हुँ। आजको समाज, वर्तमान समय र परिवर्तित परिस्थितिहरूलाई नियाल्दा, युवामा गहिरो नैराश्य देखिन्छ। उनीहरूको आँखामा सजिएका सपनाहरू बताससँगै उडिरहेका छन्। देशका मेरुदण्ड कहलिने युवाहरू मलिन छन्, चिन्तित छन्, सरकार किन मौन छ?
नेपालको सन्दर्भमा, राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई “युवा” को रूपमा परिभाषित गरिएको छ। संयुक्त राष्ट्रसंघले भने १५ देखि २५ वर्ष उमेर समूहलाई युवा मानेको छ।

तर प्रश्न यो हो — युवा भनेका त राष्ट्रको सम्भावना, भविष्यका नेतृत्वकर्ता, समाजका सृजनात्मक पात्र हुन् भने सरकारले उनीहरूको आवाज किन सुन्दैन? युवाको अस्तित्व र सम्भावनालाई किन बेवास्ता गरिएको छ?
सरकारको मौनता र युवाको निराशा—
सरकारले युवाको नेतृत्वलाई आवश्यक मानेको देखिँदैन। युवाहरू किन आफ्नै देशमा सुरक्षित भविष्य देख्न सक्दैनन्? रोजगार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाजस्ता आधारभूत कुरामा किन सरकारले चासो दिएको छैन?
युवामा देखिएको नैराश्य केवल व्यक्तिगत समस्या होइन, यो त राष्ट्रिय मुद्दा हो। यदि सरकारले उत्तरदायी र प्रभावकारी भूमिका निर्वाह गरेको भए, सशक्त नेतृत्व स्थापना भएको भए, तिनै युवा राष्ट्रको रीढ बन्न सक्थे। शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता जस्ता क्षेत्रमा सरकारले पहल गरेमा युवाले आफ्नो भविष्य यहीं देख्ने थिए।
तर आज, जब म कुनै युवासँग उनको सपना सोध्छु, प्राय: एउटै उत्तर हुन्छ — “विदेश जानु छ, पैसा कमाउनु छ।”
किन?
किनभने यहाँ श्रमको सम्मान छैन, रोजगारी छैन, उत्पादन छैन, रणनीति छैन। सरकारले वैकल्पिक विकल्प नै नदिएकोले विदेशिनु बाध्यता बनेको छ।
युवा नेतृत्वमा सरकारको भूमिका—
युवा नेतृत्वको विकासका लागि सरकारको निम्न जिम्मेवारी रहन्छ:
१. नीति निर्माण र कार्यान्वयन:
युवाको सशक्तिकरणका लागि दीर्घकालीन, समावेशी र व्यावहारिक नीति आवश्यक छ। नीति बनाइयो भने त्यसको प्रभावकारी कार्यान्वयन पनि हुनु जरूरी छ।
२. शिक्षा प्रणाली सुधार:
सीपमूलक, व्यवहारिक र नेतृत्व विकासमा केन्द्रित शिक्षा प्रणाली निर्माण गर्नुपर्छ।
३. राजनीतिक अवसरको सिर्जना:
राजनीतिक तहमा युवाको सहभागिता वृद्धि गर्नुपर्नेछ। उनीहरूको विचार, ऊर्जा र नवीन सोचलाई राजनीतिमा आत्मसात गर्नुपर्छ।
४. उद्यमशीलता र रोजगारीमा सहयोग:
सरकारले अनुदान, सहुलियत ऋण र व्यवसायिक तालिममार्फत स्वदेशमै रोजगारी र व्यवसाय सुरु गर्न प्रेरणा दिनुपर्छ।
५. सशक्तिकरण र संरक्षण:
सरकार आफैं युवाका लागि प्रेरणा स्रोत बन्नुपर्छ। पारदर्शी, उत्तरदायी र सक्रिय भूमिका खेल्नुपर्छ।
निष्कर्ष—
सरकारले भाषणमा मात्र सीमित नहुई, कार्यमा पनि उत्तरदायी हुनु आवश्यक छ। युवाहरू राष्ट्रका बलिया खम्बा हुन्। उनीहरूलाई अवसर, हौसला र सशक्त वातावरण दिनु सरकारको पहिलो दायित्व हो।
नेपालको समृद्ध भविष्य तब मात्र सम्भव छ जब युवाहरूले आफ्नो स्वाभिमान र सपनालाई आफ्नै माटोमा साकार पार्न पाउँछन्।
आजको युवा कुनै चरीजस्तै अन्यौलमा उडिरहेको छ। सरकार मौन छ, तर अब मौन रहने समय छैन। युवाको आवाजलाई बुझ्ने, सम्मान गर्ने र समेट्ने नेतृत्वको आवश्यकता छ।
अब राज्यले गम्भीरतापूर्वक आत्ममूल्यांकन गर्नुपर्छ —
युवा किन नैराश्य छन्?
– ऋतु देवकोटा
कानुन संकाय, विद्यार्थी
२०८१/१२/२६



