
काठमाडौं— टिकटकबाट चर्चामा आएकी मोडल प्रिज्मा खतिवडा र कलाकार सागर लम्साल ‘बले’बीचको मनमुटाव सतहमा आएको छ।
प्रिज्माले पत्रकार प्रकाश सुबेदीसँगको अन्तर्वार्तामा सागरसँगको विवादबारे खुलासा गर्दै आफू मानसिक, सामाजिक, र नैतिक समस्यामा परेको बताइन्। उनले सागरले आफ्ना तस्वीर तथा भिडियोहरू दुरुपयोग गरेको आरोप लगाउँदै प्रहरीसम्म पुगेको खुलाइन्।

प्रेम चर्चा, सम्बन्ध विच्छेद र विवादको सुरुवात
प्रिज्मा र उनकी जुम्ल्याहा बहिनी प्रिन्सी ‘ट्विन गर्ल’का रूपमा टिकटकबाट चर्चित भए। केही वर्षअघि म्युजिक भिडियोमा लोकप्रिय रहेका उनीहरूले सागर लम्सालसँग सहकार्य गरेका थिए। दर्शकले सागर र प्रिज्माको जोडीलाई मन पराए, जसका कारण उनीहरूको प्रेमसम्बन्धबारे चर्चा सुरु भयो।
०७८ मंसिरमा उनीहरूको सम्बन्ध टुटेको खबर बाहिरिएपछि दुबैले प्रेमसम्बन्ध रहेको अस्वीकार गरे। तर, त्यसयता उनीहरूले कुनै पनि सहकार्य गरेनन्।
प्रहरीसम्म पुगेको उजुरी
प्रिज्माका अनुसार सागरले फ्यान पेजमार्फत आफूहरूसँगको पुराना भिडियोहरूमार्फत प्रेम सम्बन्धको हल्ला फैलाउने गरेका छन्। विवाह पश्चात् पनि यस्ता भिडियो नहटाइएको र त्यसले आफूलाई असहज बनाएको उनले बताइन्।
प्रिज्माले यसबारे प्रहरीमा उजुरी दिएकी थिइन्, जसअनुसार सागरले फोटो तथा भिडियो हटाउने सहमति गरेका थिए। तर, उनले पहिलो कागजी सम्झौता नमान्दा विवाद झन् गहिरिएको प्रिज्माको दाबी छ।
कमेडी दरबार विवाद र थप आरोपहरू
प्रिज्माले ‘कमेडी दरबार’ कार्यक्रममा सागरले आफूलाई लक्षित गर्दै खिल्ली उडाएको भन्दै चरित्र हत्या सम्बन्धी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी थिइन्। सहमति अनुसार कार्यक्रम टिमसँग मेलमिलाप भए पनि सागरसँग भने उनले मेलमिलाप गर्न अस्वीकार गरेकी छिन्।
उनले भनिन्, “पहिलो सम्झौता नमान्दा अब कानुनी उपचारमा जानुको विकल्प छैन।”
प्रहरी कार्यालयमा झडप?
केही दिनअघि प्रहरी छलफलका क्रममा सागरले आफूलाई पिट्ने प्रयास गरेको आरोप पनि प्रिज्माले लगाएकी छन्।
उनले भनिन्, “प्रहरीले दुवै पक्षलाई बोलाएको थियो। छलफलकै क्रममा सागरले मुख छाड्दै हात उठाउने प्रयास गरे।”
प्रिज्माले सागरले आफू र बहिनी प्रिन्सीलाई काम नदिन विभिन्न कलाकारसँग लबिङ गरिरहेको आरोप समेत लगाएकी छन्।
यो विवादले नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ चर्चा सिर्जना गरिरहेको छ। अब यो विषय कानुनी उपचारतर्फ जाने सम्भावना देखिएको छ।



