
काठमाण्डौं— प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आउँदो मंगलबार अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने प्रक्रिया तीव्र बनेको छ। नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) चयनका लागि एआईजी दीपक थापा, टेकबहादुर तामाङ, र सुदीप गिरी प्रमुख दाबेदारको रूपमा उभिएका छन्।
भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठक मार्फत सरकारले आईजीपी नियुक्त गर्ने तयारी गरेको छ। त्यसैले, हाल नेपाल प्रहरी संगठनभित्र चहलपहल बढेको देखिन्छ। सरकारले तीन एआईजीको कार्य सम्पादन मूल्याङ्कन फाइल मगाएर अध्ययन गरिरहेको छ, जसमा उनीहरूको विगतदेखि वर्तमानसम्मको कार्यशैली तथा क्षमताको विश्लेषण गरिँदै छ।

तीन एआईजीको कार्य अनुभव यस्तो रहेको छ —
१.एआईजी दीपक थापा बलियो दाबेदार:-
नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) पदका लागि तीन प्रतिस्पर्धीमध्ये एआईजी दीपक थापा तुलनात्मक रूपमा सबैभन्दा बलियो दाबेदार मानिएका छन्। उनीपछि एआईजी टेकबहादुर तामाङ र एआईजी सुदीप गिरी प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका छन्। थापा कमाण्ड कन्ट्रोलको अनुभव, नेतृत्व क्षमतामा बलियो पकड, तथा विभिन्न युनिट इन्चार्ज को भूमिकाका कारण आईजीपी दौडमा अग्रस्थानमा रहेको प्रहरी स्रोतहरू बताउँछन्।
थापाको व्यावसायिक अनुभव र नेतृत्व—
इन्स्पेक्टर दर्जादेखि एआईजीसम्म, उनले २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन्। नेतृत्व क्षमताको आधारमा सबभन्दा बढी युनिट कमाण्ड गर्ने अफिसर को रूपमा उनी परिचित छन्।
एआईजी पदमा: उपत्यका प्रहरी कार्यालयको प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुख र हाल केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को नेतृत्व सम्हालिरहेका छन्।डीआईजीमा हुदॅा बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रबन्ध विभाग प्रमुख र एसएसपीमा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुख का साथै एसपी पदमा हुदॅा उनि जिल्ला प्रहरी कार्यालय, चितवन प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बुटवल र कोहलपुर सम्पर्क कार्यालय प्रमुख
र डीएसपी पदमा जिल्ला प्रहरी कार्यालय, खोटाङ प्रमुख , काठमाडौं प्रहरी वृत्त महाराजगन्ज प्रमुख, रुपन्देही इलाका प्रहरी कार्यालय प्रमुख ,तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निजी सुरक्षा अधिकृत (PSO), इन्स्पेक्टर पदमा नेपाल प्रहरी विद्यालयका साँगा (काभ्रे), गरुडा (रौतहट) र धनगढी (कैलाली) समादेशक र ११ वर्ष इन्स्पेक्टर दर्जामा रहँदा २० फरक युनिटको नेतृत्व गरिसकेका अफिसर हुन्।
थापा व्यापक नेतृत्व अनुभव, कमाण्ड कन्ट्रोलको उत्कृष्ट ट्र्याक रेकर्ड, तथा प्रहरी संगठनभित्रको प्रभावशाली छवि भएका अफिसर हुन्। उनी नेतृत्व गरेको कुनै पनि युनिटमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन्, जसका कारण आईजीपी पदका लागि बलियो उम्मेदवारका रूपमा हेरिएको छ।
२. सरल स्वभावका एआईजी टेकबहादुर तामाङ—
नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङ संगठनभित्र सरल स्वभावका इमानदार अधिकृत का रूपमा परिचित छन्। उनी व्यावसायिक अनुभव, कुशल प्रशासनिक क्षमता, र अनुसन्धान दक्षता का कारण आईजीपी दौडमा प्रमुख प्रतिस्पर्धी मध्ये एक मानिन्छन्।
तामाङको प्रहरी यात्रा— प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका तामाङ ले विभिन्न महत्वपूर्ण युनिटहरूमा सेवा गरेका छन्। उनले प्रहरी संगठनका विभिन्न तहहरूमा आकर्षक पोस्टिङ पाउँदै नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
प्रहरी सेवामा तामाङको अनुभव प्रहरी निरीक्षक पदमा हुदॅा इलाका प्रहरी कार्यालय फापरवारी ,गजुरी ,लैनचौर वृत्त प्रमुखर वडा प्रहरी कार्यालय सानेपा प्रमुख भएका उनि डीएसपी पदमा रहदॅा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र खोटाङ प्रमुख ,इलाका प्रहरी कार्यालय धरान प्रमुख र कालीमाटी प्रहरी वृत्त प्रमुख भएका थिए । एसपी पदमा रहदॅा जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लामो समय सेवा गर्दै एसएसपी पदमा बढुवा भएपछि भने नेपाल प्रहरी तालिम केन्द्र, विराटनगर प्रमुख भए।
साथै डीआईज पदमा हुदॅा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरी इन्चार्ज र हाल एआईजी रहदॅा अपराध अनुसन्धान विभाग प्रमुख र हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख छन् ।
आईजीपीका लागि तामाङको सम्भावना –
सरल स्वभाव, इमानदार छवि, र अपराध अनुसन्धानमा लामो अनुभव भएका अधिकृतका रूपमा तामाङ चिनिन्छन्। उनले अपराध अनुसन्धानदेखि प्रहरी प्रशासनसम्म विभिन्न तहमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्। हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व गरिरहेका तामाङ, आईजीपी दौडमा एक सक्षम उम्मेदवार को रूपमा हेरिएका छन्। सरकारको कार्यसम्पादन मूल्यांकन र मन्त्रिपरिषद्को निर्णय पश्चात् नयाँ प्रहरी प्रमुखको टुंगो लाग्ने छ।
३.एआईजी सुदीप गिरी : एक बौद्धिक, इमानदार र कुशल प्रहरी अधिकृत—
नेपाल प्रहरीका एआईजी सुदीप गिरी एक बौद्धिक, इमानदार, मिलनसार र सालिन अधिकृत का रूपमा परिचित छन्। ११० औं ब्याचका प्रहरी निरीक्षक रहेका गिरी सोही ब्याचका टपर अफिसर हुन्। कानुन विषयमा एलएलएम सम्म अध्ययन पूरा गरेका उनले आफ्नो करियरमा महत्वपूर्ण जिम्मेवारीहरू सम्हाल्दै आएका छन्।
गिरिको व्यावसायिक अनुभव र नेतृत्व—
गिरीले प्रहरी उपरीक्षक (एसपी) तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को रूपमा विभिन्न महत्त्वपूर्ण कार्यालयहरूमा नेतृत्व सम्हालेका छन्, जसमध्ये कालिमाटी वृत्त, जिल्ला प्रहरी कार्यालय रसुवा, पर्सा, कैलाली, र काठमाडौं परिसर उल्लेखनीय छन्। साथै, उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) मा समेत जिम्मेवारी बहन गरिसकेका छन्। उनले २५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरू लिइसकेका छन्। विशेषगरी, इन्टेलिजेन्स अनुसन्धान र अपरेशनल कमान्ड मा उनको नेतृत्व क्षमतालाई उच्च मूल्यांकन गरिन्छ। प्रहरी निरीक्षकदेखि डीआईजी सम्मको कार्यकालमा विशेष ब्युरोमा १३ वर्ष काम गरेका गिरी प्रहरी मुख्यालय (हेडक्वार्टर) द्वारा सञ्चालित गोप्य तथा महत्वपूर्ण कारबाहीका नेतृत्वकर्ता समेत हुन्।
गिरी नेपाल प्रहरीभित्र निर्विवादित छवि बनाउन सफल भएका छन्। संगठनभित्र कुनै अफिसरलाई कारबाही गरी रिप्लेस पोस्टिङ गरिँदा, हेडक्वार्टरको पहिलो रोजाइमा गिरी पर्ने गरेका थिए। यसले संगठनप्रति उनको विश्वासिलो भूमिका झल्काउँछ।
उनले अहिलेसम्म चारवटा संयुक्त राष्ट्रसंघ (UN) मिसन मा सहभागिता जनाइसकेका छन्, जसले उनको अन्तर्राष्ट्रिय कार्यसम्पादन क्षमतालाई पुष्टि गर्छ। एआईजी गिरी झण्डै १३ महिना प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभाग मा कार्यरत रहे। सामान्यतया, यो विभाग निष्क्रिय मानिन्छ र अवकाश पर्खिरहेका एआईजीहरूलाई पदस्थापन गरिने स्थान हो। तर, गिरीले यहाँ रहँदा कुनै राजनीतिक दबाब सिर्जना गर्ने वा सरुवाका लागि पहल गर्ने काम गरेनन्।
उनको निष्पक्षता र स्वच्छ छवि ले देखाउँछ कि उनी कुनै पनि राजनीतिक दलसँग नजिक छैनन्, तर संगठन र राजनीतिक नेतृत्वसँग सन्तुलित सम्बन्ध राख्न सफल छन्। यही कारणले गर्दा नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) को बलियो दाबेदार का रूपमा गिरीलाई हेरिएको छ।
आईजीपीको कार्यकाल र संसदमा विचाराधीन प्रहरी ऐन—
तीनै जना एआईजी २०५२ भदौ १८ गते प्रहरी निरीक्षकमा नियुक्त भएका थिए। हालको ३० वर्षे सेवाहदका अनुसार, नयाँ आईजीपीको कार्यकाल ६ महिना मात्र हुनेछ। तर, संसद्मा विचाराधीन प्रहरी ऐन संशोधन पारित भएमा आईजीपीको कार्यकाल २.५ वर्ष थप हुन सक्ने सम्भावना छ।
गृहमन्त्री रमेश लेखक ले प्रधानमन्त्री केपी शर्मा ओली लाई नयाँ प्रहरी महानिरीक्षकको नियुक्तिबारे ब्रिफिङ गरिसकेका छन्। मन्त्रिपरिषद्को बैठकपछि मात्रै स्पष्ट हुनेछ कि नेपाल प्रहरीको नेतृत्व कसले सम्हाल्नेछ।
अहिलेकै कानुनी प्रावधानअनुसार नयाँ आइजीपीले २०८२ को भदौ १८ सम्म कार्यभार सम्हाल्नेछन्।