
काठमाडौं — अधिवक्ता स्वागत नेपालले राजा र राजतन्त्रको पक्षमा करिब २५ लाख जनता सडकमा उत्रिएको दाबी गरेका छन्। उनले यस घटनासँगै नेपालको गणतन्त्र विधिवत रूपमा अन्त्य भएको बताउँदै राजावादीहरू अहिले नै नारायणहिटी दरबार छिर्न सक्ने अवस्थामा रहेको दाबी गरेका छन्।
उनका अनुसार राजावादीहरूले नेपालमा बंगलादेशको जस्तै अवस्था नआओस् भन्ने हेतुले अहिले हतार नगरेका हुन्। उनले भने, “२५ लाख जनता उपस्थित भएका छन्। १० किलोमिटर सडकभरि राजाको स्वागतका लागि जनता उत्रिएका छन्। राजाले यदि नारायणहिटी प्रवेश गर्ने निर्णय गरे भने, नेपालमा विदेशी प्रभाव राख्न चाहने कुनै पनि दलाल बाँकी रहने छैन।”

नेपालका केही धर्मगुरुहरूको सल्लाहअनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी प्रवेशको तयारी गरिरहेको समेत उनले उल्लेख गरे। नेपाली सेनाले राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेताहरूको सुरक्षाका लागि उनीहरूलाई तत्काल अपदस्त गर्नुपर्ने उनको सुझाव छ।
उनले थपे, “नागरिकहरूले आजै नारायणहिटी दरबार छिर्नुपर्ने आवाज उठाइरहेका छन्। तर, संयमता र धैर्यता आवश्यक छ।”



