
काठमाण्डौं— नेपालमा सुशासन कायम गर्न कानुनी कार्यान्वयन गर्ने निकायहरू प्रभावकारी हुनुपर्छ। यस सन्दर्भमा, लुम्बिनी प्रदेश प्रहरी प्रमुख दान बहादुर कार्कीको नेतृत्वमा प्रहरी प्रशासनमा उल्लेखनीय सुधारहरू देखिएको छ।
हालै, काम विशेषले दाङ जाने क्रममा विभिन्न प्रहरी इकाइहरूको गतिविधि अवलोकन गर्ने अवसर मिल्यो। यात्रा क्रममा विभिन्न स्थानका प्रहरी कर्मचारीको कार्यशैली, जनतासँगको व्यवहार, तथा तस्करी नियन्त्रणका प्रयासहरूबारे प्रत्यक्ष अनुभव लिने मौका प्राप्त भयो। विशेष रूपमा, लुम्बिनी प्रदेशको प्रहरी व्यवस्थापनले देखाएको सुधार र जनउत्तरदायी प्रवृत्तिले गहिरो प्रभाव पार्यो।

प्रहरी कार्यशैली र सुधारका संकेतहरू—
यात्रा क्रममा पश्चिम नवलपरासीदेखि दाङसम्म प्रहरी कार्यशैलीमा देखिएको भिन्नता उल्लेखनीय थियो। चेकजाँचका क्रममा प्रहरीले नमस्कार गर्दै मुस्कानका साथ सेवाग्राहीहरूसँग व्यवहार गरिरहेका थिए। तर, केही स्थानमा भने गैरव्यावसायिक शैली अपनाएको पनि देखियो।
चन्द्रौटा क्षेत्रमा एउटा दुर्घटना हुँदा प्रहरीले गाडीहरू रोक्नुपर्ने अवस्था आयो। यस क्रममा प्रहरी प्रमुखको व्यवहार सेवाग्राहीमैत्री नभएको देखियो। यस्तै अवस्थामा खोज पत्रकारितामा संलग्न एक सञ्चारकर्मीले प्रहरी कारबाहीको भिडियोसमेत खिचे, जसले केही प्रश्न उठायो।
लुम्बिनी प्रदेशमा प्रहरी सुधारका प्रयासहरू—
लुम्बिनी प्रदेश प्रहरी प्रमुख दान बहादुर कार्कीको नेतृत्वमा तस्करी नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि ठोस प्रयासहरू भइरहेका छन्। एक भन्सार कर्मचारीका अनुसार, अवैध रूपमा पक्राउ गरिएका गोरुहरू लिलामी गरिएपछि कार्कीले कानुनी प्रश्न उठाए। अन्ततः, ती गोरुहरू किसानलाई वितरण गरियो, जसले प्रहरी प्रशासनको पारदर्शितालाई बल दियो।
त्यस्तै, लुम्बिनी प्रदेशमा राजस्व छली नियन्त्रणमा पनि उल्लेखनीय प्रगति देखियो।सन २०२४ को तुलनामा सन २०२५ मा दान कार्की ले नेतृत्व सम्हालेपछी सतप्रतिशत वृद्धि देखियो।
सन् २०२४ मा ४.८ करोड बराबरको राजस्व छली पक्राउ गरिएकोमा सन् २०२५ मा ९ करोड रुपैयाँभन्दा बढीको राजस्व छली नियन्त्रण गरियो। प्रहरी प्रशासनको सक्रियताले फरार अभियुक्तहरू पक्राउ गर्ने दरसमेत उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ।

सुशासनका लागि प्रहरी नेतृत्वको महत्त्व—
सञ्चारकर्मीहरूसँगको छलफलमा स्थानीय व्यावसायी, राजनीतिक नेताहरू र सर्वसाधारणबीच प्रहरी प्रमुख कार्कीप्रति मिश्रित प्रतिक्रिया पाइयो। सुशासन र कानुनी शासनलाई प्राथमिकता दिने नेताहरूले उनलाई प्रशंसा गरे भने तस्करी र अनियमिततामा संलग्न समूहहरूले आलोचना गरे।
यसले देखाउँछ कि सही नेतृत्वले प्रहरी संगठनलाई प्रभावकारी बनाउन सक्छ। यदि नेपालमा सुशासन कायम गर्नुपर्छ भने प्रहरी प्रशासनलाई राजनीतिबाट मुक्त गरी दक्ष नेतृत्वलाई अवसर दिन आवश्यक छ। सही व्यक्तिलाई सही ठाउँमा राख्न सकियो भने मात्र कानूनको प्रभावकारी कार्यान्वयन सम्भव हुन्छ।
नेपालमा सुशासन स्थापनाका लागि प्रहरी संगठनको सुधार अनिवार्य छ। यसका लागि दक्ष प्रहरी अधिकारीहरूलाई प्रदेशस्तरमा खटाउनु आवश्यक छ। यदि सही रणनीति अपनाइयो भने, प्रहरी प्रशासनमा सुधार गर्दै मुलुकमा सुशासन कायम गर्न सकिन्छ।
(लेखक : गोविन्द पन्थी पूर्व डीएसपी तथा अधिवक्ता हुनुहुन्छ)



