
कैलाली — जिल्ला प्रशासन कार्यालय, कैलालीले सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन सञ्चालनका लागि पास लिनुपर्ने नियम लागू गरेको छ। पासबिना सरकारी गाडी सञ्चालन गर्न नपाइने प्रशासनले जानकारी दिएको छ।
प्रशासनका अनुसार झन्डावाल सवारी साधन, सुरक्षा निकायका गाडी, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सेवाका सवारी साधनहरू भने यो नियमबाट छुट हुनेछन्। तर, अन्य सबै सरकारी सवारी साधन सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट पास लिन अनिवार्य गरिएको छ।

गृह मन्त्रालयको निर्देशनअनुसार, पास लिन कार्यालय प्रमुखले कारण र औचित्य स्पष्ट गर्नुपर्नेछ। यसका लागि गृह मन्त्रालयको पत्र संख्या च.नं. ४५८, मिति २०७९ जेठ १२ मा उल्लिखित व्यवस्थाको आधारमा निर्णय कार्यान्वयन गरिएको हो।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालका अनुसार, यो नियम सरकारी स्रोत र साधनको कुशल उपयोग र दुरुपयोग रोक्नका लागि लागू गरिएको हो। “यस व्यवस्थाले सरकारी गाडीको अनावश्यक सञ्चालन नियन्त्रण गर्ने र व्यवस्थापनलाई व्यवस्थित बनाउने विश्वास लिएका छौँ,” हमालले बताए।
प्रशासनले सबै सरकारी कार्यालय तथा सरोकारवाला पक्षलाई यो नियमको पालना गर्न आग्रह गरेको छ। सूचनाको उल्लङ्घन गर्ने गाडीमाथि आवश्यक कानूनी कारबाही गरिने चेतावनी पनि दिएको छ।
यो नयाँ व्यवस्थाले सरकारी स्रोतको सही उपयोग सुनिश्चित गर्न मद्दत गर्ने प्रशासनले जनाएको छ।

जि.प्र.का. कैलालीबाट जारी पत्र




