
काठमाण्डौं। लुम्बिनी प्रदेश प्रहरीले पुस महिनामा मात्र ४ करोड ७७ लाख ९२ हजार ९ सय ५५ रुपियाँ जरिवाना संकलन गरेको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले बुधबार आयोजित पत्रकार सम्मेलनमा पुस महिनामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ४ करोडभन्दा बढी रकम जरिवाना संकलन भएको जानकारी दिएका छन्।
डीआईजी कार्कीका अनुसार, लुम्बिनी प्रदेशका जिल्लाहरूमा भएको बेथिति, अनियमितता र लापरबाहीलाई नियन्त्रण गर्ने क्रममा ठूलो रकम जरिवानाबाट राजश्व संकलन गर्न सफल भएका छन्। साथै, साउनदेखि पुस मसान्तसम्म ८ करोड ६७ लाख ७६ हजार ९ सय ९४ रुपियाँ जरिवाना संकलन भएको उल्लेख गरे।

पुस महिनामा लुम्बिनी प्रदेशका १२ जिल्लामा फैसला कार्यान्वयनका क्रममा ४ सय ८४ जना फरार व्यक्तिहरू पक्राउ परेका छन्। सबैभन्दा बढी फरार व्यक्तिहरू कपिलवस्तु जिल्लाबाट पक्राउ परेका छन्, जहाँ ११२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। अर्घाखाँची र रोल्पा जिल्लामा भने सबैभन्दा कम फरार प्रतिवादी पक्राउ परेका छन्।
साउनदेखि पुस महिनासम्म कुल १ हजार ५ सय १९ जना फरार व्यक्तिहरू पक्राउ परेका छन्। पुस महिनामा पक्राउ परेका प्रतिवादीमध्ये जबरजस्ती करणीमा १६, चेक अनादरमा ५०, बालविवाहमा ७, सवारी ज्यान सम्बन्धी मुद्दामा ३९, लागुऔषध ४३, बैंकिङ कसूरमा २१, कुटपिटमा ४९, चोरी र डाँकामा ४९, कर्तव्य ज्यानमा ११ र अन्य मुद्दामा १९९ जना रहेका छन्।



