
काठमाडौं – नाटकीय शैलीमा १५ जनाभन्दा धेरैबाट करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा दिनेश घिमिरे पक्राउ परेका छन्। नुवाकोटको ककनी गाउँपालिका–२ घर भई काठमाडौं–१६ बस्ने घिमिरेले आफूलाई कुशल ठकुरीको रूपमा चिनाउँदै भन्सार र सिआइबीको कर्मचारी बनेर ठगी गरेका थिए।
घिमिरेले सस्तोमा सुन, आइफोन, र गाडी दिलाइदिने बहानामा विभिन्न व्यक्तिहरूलाई ठगेका थिए। एक सुनपसलेसँग ४२ तोला सुन १० लाखमा दिने भन्दै ठगी गरे भने एक महिलासँग २२ लाख रुपैयाँ ठगेको उजुरी परेको छ।

प्रहरीका अनुसार घिमिरे २०७२ सालदेखि नै ठगीमा संलग्न छन्। हालसम्म उनका विरुद्ध १२ वटा मुद्दा दर्ता भएको र नयाँ उजुरीहरूमा ८० लाखभन्दा बढी ठगीको प्रमाण फेला परेको छ। ठमेलमा भेट्न गएका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार घिमिरेले नरम भाषामा फकाएर पैसा ठगी गर्थे, प्रायः नगद लिने र बैंक कारोबार गर्दा अन्य व्यक्तिको खाता प्रयोग गर्ने गर्थे। पीडितहरूले अब उनलाई ‘नटरवरलाल’ भनी चिनेका छन्।



