काठमाडौँ। नेपाली क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट सन्यास लिएको संकेत गरेका छन्।

गएराति आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गर्दै सन्दीपले सबैलाई धन्यवाद व्यक्त गरेका छन्। यद्यपि, उनले स्पष्ट रूपमा सन्यासको घोषणा नगरे पनि उनको पोस्टले त्यस्तै आशय झल्काएको छ। पोस्टमा उनका समर्थकहरूले निवृत्त जीवनको सफलताका लागि शुभकामना दिएका छन्, भने कतिपयले उनको यो कदमलाई ‘घुर्की’ भन्दै टिप्पणी गरेका छन्।

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान हुन्। हालै सम्पन्न नेपाल प्रिमियर लिगमा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए भने जय ट्रफीमा बागमती टिमको नेतृत्व गरेका थिए। केही समयअघि सन्दीपले नेपाली क्रिकेट एम्पायरहरूको कामप्रति प्रश्न उठाउँदै आलोचना गरेका थिए।

आफ्नो पोस्टमा सन्दीपले लेखेका छन्, “सबै कुराका लागि सबैलाई धन्यवाद। यो देश र यहाँका अद्भुत मानिसहरूले मेरो यात्राको प्रत्येक चरणमा सधैं साथ र समर्थन प्रदान गर्नुभयो। तपाईंहरूको माया र हौसलाले मेरो जीवनमा सधैं विशेष स्थान ओगटिरहनेछ। म शब्दहरूमा व्यक्त गर्न नसकिने गरी आभारी छु।”

सन्दीप लामिछाने बलात्कार आरोपपछि लामो समय टिमबाट बाहिर रहेका थिए। मुद्दामा सफाइ पाएपछि राष्ट्रिय टिममा फर्किएका उनले हालसम्म उल्लेखनीय प्रदर्शन गर्न सकेका छैनन्। यसैबीच, उनको यो निर्णयले नेपाली क्रिकेट क्षेत्रमा नयाँ बहस सुरु गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय