
झापा। काँकरभिट्टाबाट भन्सार छलेर ल्याइएको पाँच लाख ७३ हजार ५५० रुपैयाँ मूल्य बराबरका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।
गएराति करिब ९ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित हनुमान मन्दिर हुँदै भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद सामानमा धोती कपडा ८ थान, लेडिज ब्लाउज १० थान, पेटिकोट ८ थान, भेष्ट २० थान, थानको कपडा १५ मिटर, लेहङ्गा २ थान, डिनर प्लेट १२ थान, धाराको टुटी ३९ थान, गाडीका पार्टपुर्जा र विभिन्न किराना सामग्री समावेश छन्। यी सामान बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले बरामद सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय, काँकरभिट्टा बुझाउने तयारी भइरहेको जानकारी दिएको छ।



