
बुटवल ।पश्चिम नवलपरासीका २० वर्षीय रोशन भनिने सूर्यकुमार बढईको अर्काकी श्रीमतीलाई मोटरसाइकलमा चढाउँदा हत्या भएको छ। हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका ६ का ३० वर्षीय जोगिन्दर बढई, सोही ठाउँमा २० वर्षीय सुरज राजभर र अर्का एक १७ वर्षका किशोर रहेका छन्। गत साउन १४ गते राति आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा बढईको हत्या भएको थियो।
घटना हुनुभन्दा तीन दिनअघि साउन ११ गते जोगिन्दर बढईकी श्रीमतीलाई मोटरसाइकलमा राखेर रोशन भनिने सूर्यकुमार बढईले आफन्तको घरमा पुर्याएका थिए। सोही बेला बाटोमा जोगेन्दरसँग रोशनको भेट भएपछि विवाद सुरु भएको थियो।

आफ्नी श्रीमतीलाई मोटरसाइकलमा चढाएको विषय जोगिन्दरले साथी सुरज राजभर र अर्का किशोरलाई पनि जानकारी गराएका थिए। सो विवादपछि जोगिन्दरले रोशनसँग बदलाको भावना राखेको पाइएको प्रहरी अनुसन्धानले देखिएको छ।



