
काठमाडौं । सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहार नियन्त्रण गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। ‘अप्रेसन डिजिटल स्वाभिमान’ नाम दिइएको अभियानअन्तर्गत २४ घण्टाभित्रै नौ जना पक्राउ परेका छन्।
प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्यूरो र विभिन्न प्रहरी कार्यालयको संयुक्त परिचालनमा अभियान अघि बढाइएको हो।

साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीका अनुसार अनलाइनमार्फत महिला तथा बालबालिकालाई दुर्व्यवहार गर्ने, अपमानजनक टिप्पणी गर्ने, धम्की दिने, चरित्रहत्या गर्ने, व्यक्तिगत तस्बिर तथा भिडियो सार्वजनिक गर्ने र सामाजिक सञ्जालमा नक्कली खाता बनाएर भ्रम फैलाउने गतिविधिमा संलग्नमाथि लक्षित गरी कारबाही थालिएको हो।
अभियानका क्रममा बुधबार ६ जना र बिहीबार थप तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टोखाबाट आशिष तामाङ, ललितपुरबाट रोहितविक्रम राणा, न्युरोडबाट फेसल एजाज, सिनामंगलबाट विमल दर्जी खत्री, उदयपुरबाट सुवास कार्की र बानेश्वरबाट चिरञ्जीवी सापकोटा रहेका छन्।
त्यसैगरी कास्कीबाट दुई जना नाबालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
डिजिटल माध्यमको दुरुपयोग गरी महिला तथा बालबालिकाको सम्मान, गोपनीयता र सुरक्षामाथि आघात पुर्याउने गतिविधि निरुत्साहित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले यस्ता गतिविधिमा संलग्नमाथि निगरानी र अनुसन्धानलाई तीव्र बनाउँदै डिजिटल हिंसासम्बन्धी अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको छ।





