काठमाडौं । सीमा क्षेत्रमा हुने अवैध चोरी पैठारी तथा निकासी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिएको सशस्त्र प्रहरी बलले इलामको पशुपतिनगरबाट १६ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। सोही क्रममा तस्करीका लागि प्रयोग गरिएका केही चौपायासमेत नियन्त्रणमा लिइएका छन्।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर ९ गतेसम्म सञ्चालन गरिएका विभिन्न कारबाहीबाट १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको हो।

गुल्मले इलामको सूर्योदय नगरपालिकाअन्तर्गत सातवटा छुट्टाछुट्टै स्थानमा गरेको कारबाहीका क्रममा स्याउ, फर्सीको बियाँ, जुत्ता–चप्पल तथा मदिराजन्य पदार्थ बरामद गरेको जनाएको छ।

बरामद सामग्रीमा १७८ कार्टुन अर्थात् ३ हजार ५६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, ५७० किलो फर्सीको बियाँ तथा जुत्ता–चप्पललगायतका सामान रहेका छन्।

सशस्त्र प्रहरीका अनुसार मानेभञ्ज्याङ, चारमाइल, नाकापानी सीमा इलाका तथा खोलागोदाम क्षेत्रबाट बीओपी मानेभञ्ज्याङ र बीओपी छब्बिसेसहितको संयुक्त टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो।

सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, चोरी पैठारी तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले नियमित गस्ती, पेट्रोलिङ र निगरानीलाई निरन्तरता दिँदै आएको छ।

पशुपतिनगर सीमा सुरक्षा गुल्मको कमान्ड सशस्त्र प्रहरी बलको सञ्चार तथा मिडिया शाखामा लामो समय काम गरिसकेका डीएसपी शैलेन्द्र थापाले सम्हाल्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय