गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मी परिसरस्थित निवासमै प्रहरी निरीक्षक पर्वत कुमार केसी मृत अवस्थामा फेला परेका छन्। मंगलबार बिहान सुतिरहेकै बिस्तारामा अचेत अवस्थामा फेला परेका ५२ वर्षीय केसीलाई उपचारका लागि गुल्मी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार केसीको स्थायी घर दाङ र पारिवारिक बसाइँ नेपालगञ्ज रहेको थियो। उनी जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत थिए।

मंगलबार बिहान ढिलोसम्म नउठेपछि उनको कोठाको झ्याल तोडेर हेर्दा बिस्तारामै अचेत अवस्थामा फेला परेको डीएसपी विश्वकर्माले जानकारी दिए।

घटनाबारे परिवारलाई खबर गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि पोस्टमार्टम तथा प्रारम्भिक अनुसन्धान गरिएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय गुल्मी परिसरमा केसीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ। उनका दाजु विनोद कुमार केसीले शव बुझेर लगेका छन्। उनको अन्तिम दाहसंस्कार दाङको दुन्द्राघाटमा गरिने जनाइएको छ।

प्रहरीका अनुसार केसी सुगर र प्रेसरसम्बन्धी समस्याबाट पीडित रहेको बुझिएको छ। यद्यपि उनको मृत्युको वास्तविक कारण पोस्टमार्टमको विस्तृत रिपोर्ट र थप अनुसन्धानपछि मात्रै खुल्नेछ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय